हात्तीपाइले रोग निवारणका लागी कचनकवल गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न।



फागुन ११ गतेबाट हुन गइरहेको आम औषधि सेवन कार्यक्रम बारे कचनकवल गाउँपालिकाले सञ्चारकर्मी,राजनैतिक दल तथा समाजसेवी स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि स्थानिय समाजसेवी संघसस्थाका प्रतिनिधि सहभागी थिए।

गाउँपालिकाका स्वास्थ शाखा प्रमुख जागेश्वर यादवले ढुक्क भएर हात्तीपाइले रोग बिरुद्धको औषधि सेवन गर्न अनुरोध गरेका थिए।

उनका अनुसार दुई वर्षभन्दा कम र ७० वर्षभन्दा बढी उमेर समूहका व्यक्ति ,गर्भवती र गम्भीर बिरामीबाहेकका व्यक्तिले ढुक्कसँग औषधि सेवन गर्न सक्ने छन्।

“हात्तीपाईले रोगबाट बच्न तीन थरि औषधिहरु प्रयोग हुन्छन् जुन पूर्ण रुपमा सुरक्षित छन् र यी औषधि विश्व भर प्रयोग हुँदै आईरहेकाछन्। यी तीन थरिका औषधिहरुको प्रयोगले हात्तीपाईले रोग लागिसकेकाहरूको प्रभावकारी रुपमा उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँदछ”, उनले भने।

उनका अनुसार हात्ती पाइलेको यो औषधिले आन्द्रा र रगतका जुकाहरु मार्दछ भने लुतो र जुम्राको उपचारमा पनि निकै सहयोगी हुन्छ।

कार्यक्रममा बोल्दै पालिकाका स्वास्थ शाखाका एसिस्टेन्ट
महेशचन्द्र नेपालले हात्तीपाइलेको औषधि खालिपेटमा खान नहुने उल्लेख गरे।
उनले भने, “यो औषधि खाली पेटमा खानुहुँदैन। शरीरमा हात्तीपाईले रोगको परजीवि भएका ब्यक्तीहरूमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ, यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नु पर्दछ”।

उनका अनुसार त्यस्ता लक्षणहरु केहि घण्टाभित्रमा आफैँ हराएर जाने हुन्छ ।
कचन कवल गाउँपालिकामा यो अभियान फागुन ११ गतेबाट सुरु भइ फागुन २६ गतेसम्म गरी १४ दिनसम्म टोल-टोलमा संचालन हुनेछ।