सनलाईटको २६ औं वार्षिकोत्सवमा पूर्व विद्यार्थी सम्मानित



तुलशी निरौला:

बिर्तामोड । झापाको बिर्तामोड –५ संगीत मार्गमा रहेको सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलले विविध कार्यक्रम गरी २६ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेकोछ ।
सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलका संस्थापक तथा बरिष्ठ संगीत प्रशिक्षक कृष्ण योञ्जनको अध्यक्षता तथा प्रदेश नं. १ की प्रदेश सभा उप-सभामुख सृजना दनुवारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलकी संस्थापक तथा म्यूजिक एरेन्जर हेमा भण्डारी योञ्जनले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलका पूर्व वियार्थिहरु गायक पुष्पन प्रधान, द भ्वाइस अफ नेपालकी उपविजेता सविना योङहाङ , चौथो एपिक नेपाल म्यूजिक अवार्ड २०७९ को विजेता डा. सुदिप भट्टराईलाई सम्मान गरिएको थियो ।
उनीहरुलाई प्रमुख अतिथि दनुवार, वरिष्ठ गीतकार शिवशंकर थापा, कञ्चनजंघा एफ एमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, संगितकार जेवी थुलुङ, चलचित्र निर्देशक लाखमान योञ्जन, टंक योञ्जन लगायतले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सोही कार्यक्रममा सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलका संस्थापक तथा बरिष्ठ संगीत प्रशिक्षक कृष्ण योञ्जन तामाङले आफ्ना बुबा धनमान तामाङ र आमा बुद्धमाया तामाङको स्मृतीमा ५ लाख रुपैयाँको अक्षयकोषको घोषणा गरी स्थापना गरेको “धनमान बुद्धमाया प्रतिभा पुरस्कार” को औपचारिक रुपमा घोषणा गरिएको थियो ।
अक्षयकोष बाट प्राप्त हुने रकमले प्रत्येक बर्ष दुई जना उत्कृष्ट संगीतकर्मीलाई पुरस्कृत गरिने, दुई जना प्रशिक्षार्थीलाई निःशुल्क संगीत सिकाउने व्यवस्था गरिने सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलका संस्थापक तथा बरिष्ठ संगीत प्रशिक्षक कृष्ण योञ्जन तामाङले जानकारी दिए ।
कार्यक्रममा पुष्पन अनि सारथी म्यूजिकल इण्डो नेपाल टुरको बिर्तामोडबाट शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलका पूर्व विद्यार्थीहरु गायक पुष्पन प्रधान, द भ्वाइस अफ नेपालकी उपविजेता सविना योङहाङ , चौथो एपिक नेपाल म्यूजिक अवार्ड २०७९ को विजेता डा. सुदिप भट्टराई, गायिका मुन प्रसाई लगायतले साँगीतिक प्रस्तुति मार्फत दर्शकलाई नचाएका थिए ।
त्यस्तै सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलका विद्यार्थिहरुले गीत, नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन राजेश घतानी र सुनिता तामाङले गरेको सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलका जोनी योञ्जनले जानकारी दिए ।