विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद तथा प्रदेश स्वास्थ्यमन्त्री निर्मला लिम्बू रोस्ट्रममै रोएकी छिन् । प्रदेश नामकरणको विषयमा भइरहेको बहसका क्रममा उनले सम्बोधनको अधिकांश समय रोएरै विताएकी छिन् । उनले त्यसक्रममा पहिचान सहितको नामाकरणको विषयलाई षड्यन्त्रपूर्वक ढंगले हटाउने प्रयास गरेको गुनासो गरिन् ।
‘पहिचान सहितको नाम राख्ने छलफलमा दलीय हैसियतमा पनि मलाई बोलाइएन । एक्कासि आज बोल्नत दिइयो तर, अपमानपूर्ण ढंगले । उनले भनिन्, ‘ऐतिहासिक जनयुद्ध, ०६२–०६३ को जनआन्दोलन, पहिचानका विभिन्न आन्दोलनमा सहभागी भएर ज्यान अर्पण गरेका सहिदहरुलाई नमन गर्न चाहन्छु’ ।
अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै भन्ने खोला, नाला र पहाडलाई पहिचान नचाहिएको बताइन् । ‘यो त मानव समुदायलाई चाहिएको थियो । तिनै मानव समुदायलाई किरात र लिम्बूवान प्रदेश चाहिएको थियो,’ उनले भनिन् ।
संविधानसभाका साझा सहमतिको मर्म र भावनालाई सम्मान गर्ने आधारमानि यस प्रदेशको नाम किरात लिम्बूवान सगरमाथा हुनुपर्ने उनले बताइन् । ‘प्रदेशको नामाकरणमा पुनःविचार गरियोस्,’ उनले भनिन् ।