कोशी प्रदेश नाम खारेजीको माग राख्दै फागुन २८ गते आम हड्तालकाे घोषणा



बिर्तामोड । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले ‘कोशी प्रदेश’ नाम खारेजिको माग गर्दै भोली फागुन २८ गते आम हड्तालको आवहान गरेको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले आइतबार प्रदेश व्यापी आम हडताल गर्ने जनाएको हो ।

हड्तालको दिन एम्बुलेन्स, खानेपानी, कुटनैतिक नियोग, पत्रकार र मानव अधिकारका गाडीहरु बाहेक अन्य सम्पूर्ण सवारी साधन संचालनमा रोक लगाइएको पत्रकार सम्मेलनमा बितरीत विज्ञप्तीमा उल्लेख छ । हड्तालका दिन कलकारखाना, यातायात, स्कुल बजारलगायत प्रदेशव्यापी ठप्प गर्ने उल्लेख गरिएको छ ।

आन्दोलनरत समितिले हड्ताललाई अवज्ञा गरी कुनै क्षती भएमा सम्बन्धित अवज्ञाकर्ता आफैँ जिम्मेवार हुने चेतावनी समेत दिएको छ ।

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आदिवासी जनजाति महासंघ, किरात यक्थुङ चुम्लुङ, किरात राई यायोक्खा त्यस्तै राजनीतिक दलहरु जनता समाजवादी पार्टी, नेपाल, संघीय लिम्बुवान मन्च नेपाल, राष्ट्रिय जनमुक्ति लगायत ४० वटा संघसंगठनको समर्थनमा संयुक्त हडतालको आयोजना गरेको समितिका झापा संयोजक पाण्डवलाल चौधरीले बताउनुभयो ।

प्रदेशका १४ वटै जिल्लामा बिस्तार भएको समितिले फाल्गु २७ गते साँझ राँके जुलुस प्रदर्शनसहित चैत्र ५ गते विराटनगरमा विशाल जनप्रदर्शन गर्ने कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ ।

‘कोशी प्रदेश’ नामकरणको बिरोध गर्दै आएको समितिले यसअघि २५ र २६ गते प्रदेश व्यापी कालो झण्डा गाड्ने, कोणसभाहरु गर्ने, स्थानीय तह लगायतका सरकारी कार्यलयमा तालाबन्दी गर्ने, कोशी नामक वोर्डहरु हटाउने, वडा तहसम्म संघर्ष समिति बिस्तार गर्ने लगायतको कार्यहरु भएको बताएको छ ।