कोशी प्रदेशमा आमहडतालको कारण जनजीवन प्रभावित



झापा । कोशी प्रदेश नामाङ्कनको विरोधमा १ नम्बर प्रदेश पुनः नामाकरण संघर्ष समितिले आह्वान गरेको वन्दले कोशी प्रदेशको जनजीवन प्रभावित भएको छ । कोशी प्रदेश नाम खारेजीको माग गर्दै आज (फागुन २८ गते) दबाबमूलक प्रदेशव्यापी आम हड्ताल गरेको हो ।

आज विहानदेखि ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम, इलामको इलामबजार, झापाको विर्तामाड, दमक, भद्रपुर, मोरङको प्रदेश राजधानी विराटनगर उर्लाबारी, पथरी, लेटाङ र बेलबारी, सुनसरीको इटहरी र धरान, धनुकटाको धनकुटाबजार, तेह्रथुमको मेयङलुङ, भोजपुरको भोजपुरबजार, उदयपुरको गाइघाट, खोटाङको दिक्तेल, ओखलढुंगाको ओलढुंगा, सखुवासभाको चैनपुर, सोलुको सल्लेरीलगायत स्थानहरुमा प्रदर्शनकारी भेला भएर बन्द सफल पार्न लागेका छन् ।

बन्द गराउन सडकमा उत्रिएपछि प्रदेशको जनवीवन प्रभावित भएको हो । बन्दका कारण यातायातका साधन सञ्चालन हुन सकेको छैन। प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले आम हडताल अन्तर्गत एम्बुलेन्स, खानेपानी, विवाह, मरमिराउको, कुटनैतिक नियोग, पत्रकार र मानव अधिकारका गाडीहरु बाहेक सम्पूर्ण व्यापार व्यवसाय, उद्योग कलकारखाना, यातायात, स्कूल, बजार, कार्यालय लगायत प्रदेशव्यापी बन्द हुने कार्यक्रम रहेको जनाए ।

हिजो कोशी प्रदेशका मुख्य चोक बजारमा प्रदेशव्यापी राँके जुलुस प्रदर्शन गरेको थियो । संघर्ष समितिले चैत्र ५ गते विराटनगरमा बृहत जनप्रदर्शन गर्ने भएको छ ।