कालीकोट जिल्ला अदालत नजिकै बम भेटियो



फाल्गुन ३०, २०७९ – बम भेटिएको ३ घण्टापछि सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको छ। कालीकोट — कालीकोटको सदरमुकाम मान्मस्थित जिल्ला अदालतको उत्तरतर्फको पर्खाल नजिकै बाकस बम फेला परेको छ । चुलिमालिका बृहत खानेपानी आयोजनाको पाइपलाइन खन्ने क्रममा सानो बाकसभित्र विस्फोटक पदार्थ राखेको पाइएको छ ।

बाकसमा तारजडान गरी प्लाष्टिकमा बेरेर राखेको अवस्थामा बम भेटिएपछि नेपाली सेनाको संग्राम गुल्मबाट खटिएको टोलीले ३ घन्टापछि बम निस्क्रिय बनाएको निमित्त जिल्ला प्रहरी प्रमुख सुवराज वमले बताए ।
पाइपलाइनमा कार्यरत कामदारले बिहान शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनालाई खबर गरेपछि बम भएको यकिन गरेर निस्क्रिय पारिएको हो । मध्याह्न १२ बजे भेटिएको बम नेपाली सेनाले अपराह्न ४ बजे मात्र नाव गैराको खोल्सीमा लगेर विष्फोट गरेर निस्क्रिय बनाएको हो ।

सशस्त्र द्धन्द्धका बेला छाडिएको बम फेला परेको हुनसक्ने यहाँका प्रजिअ जोरासिंह माझीले आकलन गरेका छन् । खानोपनी पाइपलाइन खन्ने क्रममा कामदारले देखेपछि जाँच गर्दा पुरानो बम रहेको उनले बताए ।

गत कात्तिक १२ गते यहाँको तिलागुफा १० रानावाडामा बेवारिसे बम खेलाउँदा २ बालबालिकाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । कालीकोटमा सशस्त्र द्धन्द्धमा छाडिएका विस्फोटक पदार्थ भेटिने क्रम अझै रोकिएको छैन ।

वृहत शान्ति सम्झौता भएपछि यहाँका विभन्न ९ ठाउँमा भएका विस्फोटबाट ७ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।