काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ मन्त्रालय रिक्त राख्दै आज मन्त्रिपरिषद् पुनगर्ठन गरेका छन् । तिन महिनामा ७ औं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नेक्रममा एकै पटक १२ जना मन्त्रीले शपथ लिएका हुन्।
प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्री र एक राज्यमन्त्री गरेर १७ जना उनको सारथि भएका छन् । सत्ता साझेदार दलभित्रै समझदारी बन्न नसक्दा ६ मन्त्रालय अझै रिक्त रहेका छन् ।
जसमा कांग्रेसको भागमा परेका ४ मन्त्रालय, जसपा र जनमत पार्टीबाट १/१ मन्त्रालय रिक्त भएका छन् । यद्यपि जनमत पार्टीका खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएकाले अन्योल भएको छ ।
नवनियुक्त १२ जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री छन् । त्यस्तै माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।
जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । त्यस्तै लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।