सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलमा आज बिहान ट्रक खसेको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको हो ।

यात्रु लिएर काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बससँग ठोक्किएर ट्रक सप्तकोसी नदीमा खसेको हो । प्रहरीका अनुसार पुलबाट खसेको ट्रकलाई सप्तकोशीले बगाएको अनुमान गरिएको छ । पुलबाट नदीमा खसेपछि ट्रकलाई बगाएर केही तलसम्म पुर्याएको देखियो, घटनास्थलमा रहेका एक प्रहरीले भने।

ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोसी ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको र उक्त ठाउँबाट ट्रक नदीमा खसेको बसमा सवार एक ब्यात्तिले भने । सप्तकोशीमा खसेको ट्रकमा सवार ३ जनाको सकुशल उद्धार गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राई जानकारी दिए ।