बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले मंगलबार २४ औं स्थापना दिवस मनाउने क्रममा अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ।
बिर्तामोडको अतिथिसदनमा आयोजित स्थापना दिवस विषेश कार्यक्रममा पहिचानकालागि नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), जातीय संगठनहरु र फोनिजबिचको सहकार्य बिषयमा अन्तरसंवाद गरिएको थियो ।
फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति महासंघ र जातिय संगठनका नेताहरु तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघमा आवद्ध नेताहरुले पहिचानको मुद्धामा सबै आदिवासी जनजाति एक हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय उपाध्यक्ष तथा प्रमुख अतिथि कमन देवानले नेपालमा ३५ सय आदिवासी जनजाति पत्रकारहरु फोनिजमा आवद्ध भएको बताए। उनले ८ वटा मुलुकमा फोनिजको संगठन रहेको समेत जानकारी गराए । देवानले आदिवासी जनजातिको पहिचान रक्षाको सन्दर्भमा फोनिजले खेलेको भुमिका महत्वपूर्ण रहेको बताए । त्यस्तै उनले अहिले भइरहेको पहिचानको आन्दोलनमा फोनिज कर्मीहरुले स्प्रस्ट रुपमा पहिचानको पक्षमा कलम चलाउनु पर्नेमा जोड दिए ।
कार्यक्रमका विषेश अतिथि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का झापा जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीले फोनिज र नेफिन बिच विभिन्न अन्तरसंवाद भइरहेपनि आवश्यक समन्वय भने हुन नसकीरहेको बताए । चौधरीले कोशी प्रदेश नाम खारेजीकालागी भइरेको आन्दोलनमा राजनैतिक दलहरुले अझैपनि विवेक पुर्याउन नसकेको बताए । चौधरीले राजनैतिक दलहरुलाई सच्चिन आग्रह गर्दै पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुको विकल्प नभएको बताउदै सबै पहिचान पक्षधरलाई एक जुट हुन समेत आग्रह गरे।
कार्यक्रममा फोनिज(तत्कालिन अनिज) झापाका संस्थापक अध्यक्ष दिपिन राईले कार्यक्रमको बिषय तथा उदेश्य बारे प्रस्टाएका थिए । उनले पहिचानकालागि नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), जातीय संगठनहरु र फोनिजबिचको सहकार्यमा जोड दिदै अबको मार्ग तय गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बिष्णु सुब्बा, फोनिजका प्रदेश सल्लाहाकार अनिल देव राई, किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, किरात राई यायोख्खाका जिल्ला सदस्य गौरिमान राई, फोनिज झापाका पूर्व अध्यक्ष इन्द्रजीत मुखिया, सल्लाहाकार राधा सुब्बा, तमु ह्युल धोज धी बिर्तामोड नगर अध्यक्ष सलबहादुर गुरुङ लगायतले धारणा राखेका थिए ।
फोनिज झापाका जिल्ला कार्यसमिति सदस्य सुरेश आले ले स्वागत मन्तव्य राखेका कार्यक्रमको संचालन फोनिजका जिल्ला सचिव तिलक योञ्जनले गरेका थिए ।