बिर्तामोड । सेप्टेम्बर १ तारीख यानिकी भाद्र १५ गते इराकमा श्रम गर्न गएका १२ नेपालिहरु मारिएको सम्झनामा शुक्रबार झापाको बिर्तामोडमा दिप प्रज्वलन गरिएको छ।

वि.सं.२०६१ साल भाद्र १५ गते यानिकी सन् २००४ सेप्टेम्बर १ तारीखका दिन आफू आफ्नो परिवारको भविष्य निर्माण गर्न भन्दै श्रमको लागि इराक पुगेका १२ जना नेपालीहरुलाई सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो ।
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले ती युवाहरूको हत्या भएको १९ बर्ष पुगि सक्दा आज पनि देश र युवाहरुको अवस्था जस्ताको त्यस्तै रहेको र अब फेरि त्यस्तो कालोदिनहरु दोहोरिन नपरोस् भन्दै प्रदेशका सबै ठुला शहर चोकमा मृतकहरुका आत्मा शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेर श्रद्धाञ्जली सभाको आयोजना गर्ने क्रममा बिर्तामोडमा महासंघ आवद्ध कलाकार तथा अपन स्वर्ग नेपाल कला संस्कृती प्रा.लि. अध्यक्ष समेत रहेका भुपु लिम्बुको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा चलचित्र निर्देशक तथा कलाकार किरन राई, गायक मनिल राई, त्यस्तै अन्य कलाकारहरु दिपेन राई, येहाङ्ग लाबुङ, आदर घिमिरे, खिम्दिङ्हाङ याक्थुम, महेन्द्र कुमार लिम्बु लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै महासंघका प्रदेश अध्यक्ष तथा निर्देशक अरुन प्रधान द्वारा निर्माण गरिएको चलचित्र ‘१२ नेपाली एक चिहान’ आगामी मङ्सिर बाट नेपाली हलहरुमा संचालनमा आउने भएको छ। उक्त चलचित्र वास्तविक घटनामा आधारित भएकोले निकै सन्देश युक्त रहेको बताइएको छ । मृतक १२ जना: मंगल लिम्बू ( हातिखर्क, धनकुटा) , प्रकाश अधिकारी ( सुरुङ्ग, झापा) , राजेन्द्र श्रेष्ठ ( चिसापानी, खोटाङ) , ज्ञानेन्द्र श्रेष्ठ (खोटाङ) , संजय ठाकुर ( धनुषा ), मनोज ठाकुर( धनुषा ), बुधन शाह( धनुषा ), ललन सिंह कोईरी( धनुषा ), रमेश खडका ( ललितपुर ), बिष्णुहरि थापा ( लमजुङ ), जित बहादुर थापा (गोर्खा), झोक मगर (रोल्पा) उनिहरु सबैको घरमा पुगेर सत्य तथ्य घटनाको विवरण संकलन गरि त्यसैको आधारमा कथा वस्तु निर्माण गरिएको निर्देशक प्रधानले बताए ।
हाल उक्त चलचित्र निर्माण सम्पन्न भएर हङकङ, बेलायत, स्विडेन, नर्वे लगायत युरोप को विभिन्न देशहरुमा प्रदर्शन भइरहेको छ।


 
                                                                     
                
 
                     
                     
                     
                     
                     
                     
                    