झापा । किरात राई विद्यार्थी संघ झापाले शनिबार आफ्नो २५ औं स्थापना दिवसको अवसरमा दमक स्थित किरात भवनमा एक भव्य समारोहको आयोजना गर्दै सम्पन्न गरेकोछ ।
जिल्ला भरिबाट सयौंको सङ्ख्यामा सहभागी भएका राई विद्यार्थीहरुका बिच आयोजित कार्यक्रममा सांस्कृतिक प्रदर्शन सहित कोशी प्रदेश नाम खारेजी विषयमा बृहत अन्तरक्रिया भएको थियो ।
उक्त कार्यक्रम किरात राई विद्यार्थी संघ झापाका संस्थापक अध्यक्ष तथा किरात राई यायोक्खा झापाको वर्तमान सल्लाहकार दिपेन बाला राइको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बालाले राज्यको प्रशासनिक क्षेत्रमा किरात राई जातिको सहभागीता कम रहेकोे र न्यून शिक्षाकै कारण उक्त स्थानमा पुग्न नसकेकोले अहिलेका विद्यार्थीहरुले लगनशील भएर अध्यायन गर्न आवश्यक रहेको सुझाए । उनले उच्च शिक्षा अध्यायनको नाममा हाल विद्यार्थीहरु विदेशीने गरेको र उक्त थितिले देश समृद्दी नहुने भन्दै देश भित्रै सम्भावना खोज्न समेत विद्यार्थीहरुलाई आग्रह गरे। त्यस्तै आदिम कालबाट बसोबास गर्दै आएका भुमिपुत्र किरातीहरुको पहिचान, सभ्यता र इतिहास माथी प्राहार गर्दै एकल नश्लिय राज्यले प्रदेश नम्बर १ लाई कोशि नाम राखेको भन्दै यसको खारेजीको आन्दोलनमा राई विद्यार्थीहरु अझ सशक्त भएर लाग्न समेत बालाले आग्रह गरे।
कार्यक्रममा किरात राई विद्यार्थी संघका केन्द्रिय सदस्यहरु, यायोक्खाका केन्द्रिय सदस्य इन्द्रमान चाम्लिङ, झापा जिल्लाका सचीव सुसन राई, सह- कोष अध्यक्ष आनन्द राई, सदस्य गौरिमान राई लगायतको उपस्थित रहेको थियो। त्यस्तै राई विद्यार्थीका पुर्व नेता तथा पत्रकार अनिल देभ राई, आदिवासी जनजाती महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी साथै अन्य जातीय विद्यार्थी संगठनका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
अन्तरक्रियामा बोल्दै अतिथिहरुले आफ्नो सभ्यता र इतिहास बचाउनको लागि पहिचानवादीहरु एक जुट भई कोशि प्रदेश नाम खारेज गर्नै पर्नेमा जोड दिएको कार्यक्रममा किरात राई विद्यार्थी संघ झापाका सदस्य अयुप राई राईले स्वागत गरेका थिए भने जिल्ला अध्यक्ष मिलन राईले अध्यक्षता र जिल्ला सचीव रजनी राईले कार्यक्रम संचालन गरेकी थिइन्।