भुकम्पमा परि ज्यान गुमाउनेको संख्या १२८ पुग्यो: जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु



जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ।

भूकम्पमा परी आज  बिहानसम्म जाजरकोटमा मात्रै ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। त्यस्तै जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्। 

अहिलेसम्म  १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको पनि एसएसपी भट्टरईले जानकारी दिए। भूकम्प प्रभावित क्षेत्रमा उद्धार र खोजी तीब्र पारिएको र तीन वटै सुरक्षा निकाय परिचालन भएको उनले बताए।

जाजरकोट केन्द्रबिन्दु भए गएराति ११:४६ बजे ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न त्यसतर्फ गएका छन्।