घुर्मी-चिवाभन्ज्याङ पहिचानवादी जागरण अभियान उदघाटन: मङ्सिर २६ र २७ गते मध्य पहाडी लोकमार्ग बन्द हुने



उदयपुर । कोशी नाम खारेज गरी पहिचानको आधारमा नाम राख्न माग गर्दै आएको प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले उदयपुरको घुर्मी देखि पाँचथर चिवाभन्ज्याङसम्मको पहिचानवादी जागरण अभियान बिहीबार घुर्मी बजारमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उदघाटन गरेकोछ । जसलाई संघर्ष समितिले ‘घुर्मी-चिवाभन्ज्याङ पहिचानवादी जागरण–२०८०’ भनेको छ ।

कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सशक्त बनाउनका लागि उक्त जागरण अभियान सुरु गरिएको हो । अभियान अनुरुप नै आगामी मंसिर २५ गते विभिन्न १८ स्थानमा सांस्कृतिक साहित्यिक कार्यक्रमसहितको कोणसभा गरिने छ भने मंसिर २६ र २७ गते मध्यपहाडी लोकमार्ग अन्तर्गत उदयपुरको घुर्मीदेखि खोटाङको दिक्तेल हुँदै चिवाभन्ज्याङसम्मको सडक बन्द गरिने घोषणा समेत गरिएको छ ।

पहिचान आन्दोलनको विरुद्धमा बोल्नेहरुलाई साे क्षेत्रमा कुनै पनि हालतमा हिँड्न नदिने पहिचानको लागि युवाका केन्द्रिय संयोजक तथा किरात राई यायोक्खाका महासचिव समेत रहेका भिम राईले बताए ।

‘कुनै पार्टीलाई छेक्ने हाम्रो रणनीति होइन,’ उनले भने, ‘तर हाम्रो आन्दोलनको विरुद्धमा बोल्नेहरुलाई चाहिँ जुनसुकै पार्टीको भए पनि हामी छिर्न नै दिँदैनौँ ।’

संघर्ष समितिले कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सांसदहरुलाई विरोध गर्ने पहिल्यै घोषणा गरेको थियो ।

संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा घुर्मीदेखि ओखलढुंगा हुँदै सोलुसम्मको सडकलाई ‘बलबहादुर राई मार्ग’ पनि घोषणा गरिएको थियो ।

जसमा पूर्वमाओवादी नेता गोपाल किराती, जनता समाजवादी पार्टीको किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, नेकपा एकीकृत समाजवादीका नेता कृष्ण चोङबाङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, किरात राई यायोक्खाका उपाध्यक्ष राकेश राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष निकी शेर्पा, पशुपतिनाथ मन्दिरको पहिलो नेपाली भट्ट डा. विष्णु दाहाल लगायतले बोलेका थिए ।