पिकप जलाएको आरोपमा एकजना पहिचानवादी पक्राउ



झापा । प्रदेश नम्वर १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिले मङ्सिर ३० र पौष १ गते आह्वान गरेको कोशी प्रदेश यातायात बन्दका क्रममा पिकअप जलाएको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

गत मंङ्सिर ३० गते दिउँसो करिब ३ बजेको समयमा मेची राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिका ४ स्थित किटेनी नजिकै पराल बोकेको मे १ ज ११४० नम्वरको पिकअप चार-पाँच जनाको अपरिचीत व्यक्तिहरुको समूहले जलाएर भगेका थिए ।

उक्त कार्यमा सम्लग्न भएको भन्दै बुद्धशान्ति गाउँपालिका ४ निवासी ३३ वर्षीय ‘बुलेट’ भनिने अञ्जन राईलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले प्रदेश नम्वर १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति बुद्धशान्ति संयोजक समेत रहेका राईलाई बिर्तामोडस्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक ( इन्स्पेक्टर) रमेश राईले जानकारी दिनुभयो ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर पठाइएको बताइएको छ ।