स्वर्णिम राई,
भेडेटार :पूर्वको पर्यटकीय स्थल भेडेटारमा अग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर तीन दिने फुड फेस्टिभल सुरु भएको छ ।
आईतबार कोशी प्र्रदेश सरकारका वन, वातवरण तथा पर्यटन मन्त्री गणेश प्रसाद उप्रेतीले फेस्टिभलको उद्घाटन गरेका छन् । उनले कोशी प्रदेशको मुख्य पर्यटकीय केन्द्र रहेको भेडेटारलाई विकास गर्न प्रदेश सरकारले विशेष योजना अघि सारेको बताएका छन् ।
कार्यक्रमका विशेष अतिथि साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले साँगुरीगढी गाउँपालिकालाई पर्यटन मैत्री गाउँपालिका वनाउन गाउँपालिका भरी होमस्टे संचालन गरिने बताए ।
फेस्टिभल उद्घाटन समारोहमा लिम्वु जातिको ढोल नाच, राई जातिको साकेला, याम्फू जातिको गेलाङ र मगर समुदायले हुर्रा नाच प्रदर्शन गरिएको थियो ।
फेस्टिभलमा दुई दर्जन भन्दा बढी स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिएको आयोजक संस्था होटल एशोसिएशन अफ भेडेटारकी कार्यवाहक अध्यक्ष शान्ती मादेन श्रेष्ठले जानकारी दिईन् ।
फेस्टिभलका लागि बजार क्षेत्रमा आर्कषक सजावट गरिएको छ । तीन दिनसम्म आयोजना हुने फेस्टिभलमा आउने आगन्तुकलाई सडकमा खाने र सडकमा रमाउनेसंगै भिन्नभिन्न टुर प्याकेजहरुमा ५ देखि ३० प्रतिशत सम्म छुट र आन्तरीक र बाह्यि पर्यटकहरुलाई भेडेटारका होटलमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
महोत्सवमा आउने आन्तरिक तथा वाह्रय पर्यटकलाई साँगुरीगढी गाउँपालिका भरिका ऐतिहाँसिक साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्मा बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका स्थान घुमाउने योजना छ ।
होटल एशोसिएशन भेडेटारका कार्यवाहक अध्यक्ष शान्ती मादेन श्रेष्ठको अध्यक्षतमा सम्पन्न महोत्सव उद्धघाटन सत्रमा जिल्लाको विभिन्न पालिका प्रमुखहरु, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, धरानका अध्यक्ष विजय श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अंग्रेजी नयाँ बर्षको अवसरमा हरेक वर्ष भेडटारमा खाना महोत्सव हुने गरे पनि कोभिडको कारण अघिल्लो २ वर्ष भने स्थगित भएको थियो ।