इलाममा पक्राउ परेका पहिचानवादी नेता बुलेट किराँती (अञ्जेश राई)को तत्काल रिहाइको माग गर्दै प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले पुस १८ र १९ गते मेची राजमार्ग बन्द गर्ने भएको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गरेर राजमार्ग बन्दको आव्हान गरिएको हो । किरातीलाई मङ्सिर ३० र पुस १ गते कोसी प्रदेश बन्दको बेला इलाममा पराल बोकेको गाडीमा आगो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । हाल उनी पशुपतिनगर थानाको हिरासतमा रहेको समितिले जनाएको छ ।
समितिले भने विज्ञप्तीमा यातायात बन्दको अवधिमा आन्दोलनलाई बदनाम गर्ने बदनियतले इलाम जिल्लामा पराल बोकेको गाडीमा अज्ञात समूहले गरेको उल्लेख गरेको छ । उक्त घटनामा नेता किरातीलाई झुटो आरोप लगाईएको समितिको भनाई छ ।
उक्त आगजनी घटना लगत्तै सङ्घर्ष समितिले विज्ञप्ति जारी गरेर घटनामा सङ्घर्ष समितिको कुनै संलग्नता नभएको स्पष्ट पारेको विज्ञप्तीमा उल्लेख छ । यातायात बन्दको समयमा झापाको मान्छे इलाममा गएर गाडी आगजनी गर्ने कुरा सोच्नसम्म पनि नसकिने भएकोले उनी निर्दोष रहेको समितिले उल्लेख गरेको छ । उनको रिहाईको माग पटक पटक गरिएपनि प्रसासनले सुनुवाई नगरेको भन्दै राजमार्ग बन्दको आव्हान गरिएको हो ।