धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ्ले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि उत्पन्न भएको विवाद झनै चर्किदै गएको छ ।
प्रधानमन्त्रीलाई पुस २० मा हुने धरान उत्सव उद्घाटनका लागि बोलाएकोमा नआउनु भएपछि नगर प्रमुख साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको फोटो आफ्नो कार्यकक्षबाट हटाएका थिए ।
मंगलबार फोटो पुन राख्न माग गर्दै विभिन्न राजनीतिक दलका युवाहरु उपमहानगरपालिका पुगेपछि व्यापक रुपमा प्रहरी परिचालन गरेर उपमहानगरपालिकामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । नगर प्रमुख साम्पाङ र धरानका बिभिन्न राजनीतिक दलहरुका भातृ संगठनहरुबिच छलफल भएपनि विना निष्कर्ष टुङ्गिएको छ ।
कुनै पनि हालतमा तस्बिर नराख्ने अडान कसेका नगर प्रमुख साम्पाङ्ले बरु पदबाट हटाउन दलहरुलाई चुनौती दिएका छन् ।
गत बिहीवार आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराती राजा यलम्बरको तस्बिर राखेपछी धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङको धरानका राजनीतिक दलहरुले चर्को आलोचना गरेका छन ।
बिभिन्न राजनीतिक दलहरुले सयुक्तत रुपमा विज्ञप्ती जारी गर्दै हटाइएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर यथास्थानमा राख्न चेतावनी दिएका थिए । तस्बिर हटाएको बिषयले गत शुक्रबारको कार्यपालिका बैठक समेत प्रभाबित बनेको थियो । मंगलबार राजनीतिक दलहरुका भातृ संगठनहरुले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने बिषयमा नगर प्रमुख साम्पाङसँग छलफलमा बसेका थिए । नारा जुलुससहित उपमहानगरपालिका पुगेका ५ दलका भातृ संगठनहरुका प्रतिनिधिहरु नगर प्रमुख साम्पाङसँग छलफलमा बसे पनि सहमति जुट्न भने सकेन ।
पौष २० गते धरानमा आयोजना हुन लागेको धरान उत्सब कार्यक्रममा प्रधानमन्त्रि प्रचण्डलाई स्थानिय राजनीतिक दलहरुले बोलाउनलाई २४ घण्टा भित्र पत्र काटे मात्र तस्बिर राख्ने नगर प्रमुख साम्पाङले अडान कसेपछी सहमति हुन सकेन । संगठनहरुले भने नगरपालिकाको प्रतिनिधिसहित सर्बदलिय सर्बपक्षिय टोली प्रधानमन्त्रिलाई निमन्त्रण दिन जाने प्रस्ताबलाई नगर प्रमुख साम्पाङ्ले अस्विकार गरेपछी उनीहरुले नगर प्रमुखलाई तीन दिनको अल्टिमेटमा दिएका छन् ।