आलेख ः
स्वर्णिम राई
धरान, धरानको विजयपुर स्थित बुढासुब्बा मन्दिर धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ ।
नेपालका विभिन्न जिल्ला मात्र होईन, भारतका सिक्किम, दार्जिलिङ लगायतका ठाउँबाट समेत बुढासुब्बा दर्शन गर्न आउनेहरु बढिरहेका छन् ।
सिक्किमबाट आएका रिन्छेन गुरुङ सोमबार दिउँसो बुढासुब्बा मन्दिरमा दर्शनका लागि पालो पर्खिरहेका थिए । दोस्रो पटक बुढासुब्बाको दर्शन गर्न आएका गुरुङले भाकल पुरा गर्न आएको बताए । उनले भने, ‘बुढासुब्बाप्रति आश्था छ, विश्वासले नै दर्शन गर्न आएका हौं ।’
सन्ध्या गुरुङ पनि सिक्किमबाटै धरान आएका बेला बुढासुब्बाको दर्शन गर्न मन्दिर आईपगेका थिए । उनले पनि बुढासुब्बा प्रति अगाध आश्था रहेको बताए । परिवारसँगै बुढासुब्बा मन्दिरको दर्शन गर्न आएका गुरुङले भने, ‘बुढासुब्बासँग मागेको कुरा पुरा हुन्छ भन्ने जनविश्वास छ । हामीलाई पनि विश्वास लागेरै यहाँसम्म आएका हौं ।’
सुनसरीको इटहरीबाट दर्शनका लागि बुढासुब्बा मन्दिर आएका सुनिता राई आफु धेरै पटक बुढासुब्बा आईसकेको बताए । उनी भन्छन, ‘हामी त वर्षैपिच्छे जस्तो भाले चढाउन यहाँ आउँछौं । यहाँ पुजा गरेपछि हामीले सोचेका कुराहरु पनि पुरा भएकै छन् । बुढासुब्बा प्रति गहिरो आश्था छ ।’
एक दशकअघिसम्म बुढासुब्बाको बाँसमा नाम लेख्दा प्रेम अमर हुने विश्वास गरेर बाँसमा नाम लेख्ने लहर चलेको थियो । त्यसो गर्दा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तार जाली लगाईदियो । त्यसपछि अहिले युवापुस्ता माझ प्रेम अमर हुने विश्वासका साथ बाँस वरिपरी मालाको डोरी बाँध्ने लहर चलेको छ ।
टाढादेखिका भक्तजनहरु कुखुराको भाले, अन्डा, फलफूल लिएर पुजा गर्न आईपुग्छन् । वरिपरि हरियालीले ढाकिएको बुढासुब्बा मन्दिर क्षेत्रमा बस्दा मनै आनन्द हुने गरेको दर्शनार्थीहरुले अनुभव सुनाउँछन् ।
यसरी बुढासुब्बा प्रति आस्था राख्ने दर्शनार्थीहरु पूर्वी पहाड र तराईबाट धेरै आउने गरेका छन् । त्यसबाहेक नेपालका विभिन्न जिल्लादेखि भारतका नेपाली भाषीहरु उत्तिकै हुन्छन् । २०६४ सालदेखि बुढासुब्बा मन्दिरको गेट बाहिर माला तथा फूलको पसल सञ्चालन गर्दै आएका प्रेमप्रसाद पराजुली भुटान र वर्मा देखिका भक्तजन समेत बुढासुब्बा आउने गरेको बताए । बुढासुब्बामा दर्शन गर्न आउनेहरुको सङ्ख्या वर्षेनी बढिरहेको उनले अनुभव गरेका छन ।
‘पहिला हामीले देख्दा अलि कम दर्शनार्थी आउँथे, अहिले दैनिक सयौंको सङ्ख्यामा आउँछन् ।’ उनी भन्छन, ‘पहिला बुढासुब्बालाई जनजातीको देउता भन्ने गरिन्थ्यो तर अहिले सबै जातीका मान्छे पुजा गर्न आउँछन् । अहिले बुढासुब्बा सबैका साझा देउता भएका छन् ।’
बुढासुब्बा मन्दिरमा पहिला विहान मात्र पुजा हुने गरेकोमा अहिले बेलुका तीन चार बजेसम्म पुजा हुन्छ । त्यसैले टाढाबाट आउने दर्शनार्थीहरुलाई पनि सहज भएको छ ।
बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेका अनुसार बुढासुब्बा मन्दिरमा दर्शन गर्न दैनिक सरदरदर ५ सय भन्दा माथि भक्तजन आउने गरेका छन् । विशेषगरी शनिबार र मंगलबारका दिन अझै धेरै भक्तजन आउने गरेको बताए । शनिबार र मंगलबारका दिनमा एक हजार पाँच सय हाराहारी दर्शनार्थी आउने गरेका छन् । कार्तिक र चैत महिनाका शनिबार र मंगलबारका दिन अन्य महिनाका शनिबार र मंगलबार भन्दा दोब्बर, तेब्बर आउने गरेको उनको भनाई छ ।
यो मन्दिरमा हिन्दु धर्मावलम्बी र किरात धर्मावलम्बिका साथै अन्य धर्मका मान्छे समेत आउने गरेको सचिव आले बताउछन । ‘हिन्दु धर्मावलम्बीहरु बुढासुब्बालाई किरातेश्वर महादेवका रुपमा पुजा गर्छन्’ आलेले भने ‘किरात धर्माबलम्बीहरु मध्ये कसैले यलम्बरको प्रतिकका रुपमा पुजा गर्नु हुन्छ त कसैले बुद्धिकर्ण रायको समाधिका रुपमा पनि पुजा गर्छन् । बुद्ध धर्मावलम्बी र मुसलमानहरु समेत मन्दिरभित्र पुजा नगरेपनि मन्दिर घुम्न आउने गरेका छन् ।’
बुढासुब्बाका बारेमा विभिन्न किंवदन्ती छन् । बुढासुब्बा एक शिकारी भएको कथा पनि पाईन्छ । बुढासुब्बा र उनकी बहिनी सिकार खेल्दै विजयपुर डाँडामा आईपुगेको र त्यहिं आफ्नो बाँसको धनुष गाढेर समाधि लिएको कथा पनि जनमानसमा पाईन्छ । उनै शिकारीले गाडेको धनुषबाट बाँस पलाएर झ्याङ पलाएको हुनाले बुढासुब्बा मन्दिर क्षेत्रमा भएका बाँसको टुप्पा नपलाएको जनश्रूती छ । बुढासुब्बाका बाँसको टुप्पा हुँदैनन् । बुढासुब्बा वरपर माटोका मट्याङ्ग्राहरु अहिले पनि भेटिन्छन् । त्यहि किंवदन्तीका आधारमा बुढासुब्बा मन्दिरसँगै उनकी बहिनी भनिने छुट्टै मन्दिर पनि छ ।
पथिक कवि लक्ष्मी आचार्यले बुढासुब्बालाई महाभारतका पात्र एकलव्यको समाथी भन्नु भएको छ । महाभारतको कथामा धनुर्विद्याका गुरु दोर्णाचार्यलाई नभेटेपनि गुरु मानेर धनुर्विद्या सिकेका एकलव्यले आफु निपूर्ण भएपछि दोर्णाचार्यलाई भेट गरेको र भेटमा गुरु भेटी चढाउन खोज्दा दोर्णाचार्यले बुढी औंला चढाउन लगाएको कथा पाईन्छ । तिनै दोर्णाचार्यलाई आफ्नो बुढिऔला चढाएका एकलव्यको समाधी भएको कवि आचार्यले आफ्ना लेखहरुमा उल्लेख गरेका छन ।
इतिहासकारहरुले भने बुढासुब्बालाई तत्कालिन किरात राज्यका राजा बुद्धिकर्ण रायको समाधिस्थल भनेर उल्लेख गरेको पाईन्छ । इतिहासकारहरुले कुनै समय विजयपुरमा छुट्टै सेन राज्य रहेको उल्लेख गरेका छन् । विजयपुरका राजा कामदत्त सेनको हत्या पछि वि.सं.१८२६मा विजयपुरगढीको सिंहासनमा चौतारिया बुद्धिकर्ण राय बसेको इतिहास पाईन्छ । वि.सं. १८३४ मा गोर्खाली फौजले बुद्धिकर्ण रायलाई मारेको उल्लेख छ । हाल बुढासुब्बा मन्दिर भित्र रहेको ढिस्को उनै बुद्धिकर्ण रायको समाधी वा चिहान भएको इतिहासकार इमनसिं चेम्जोङले लेखेका छन् । । मन्दिरभित्र रहेको यहि माटोको ढिस्कोमा कुखुराको बलि दिने, फूल अक्षता र रक्सि चढाउने प्रचलन छ ।
माला तथा फुल व्यापार गर्दै आएका प्रेमप्रसाद पराजुली पहिला बुढासुब्बामा भाले, रक्सि, अण्डा, पान, सुपारीसँगै गाँजा पनि चढाने गरेको तर गाँजा प्रतिबन्ध भएपनि हाल चढाउन छाडिएको बताए । बुढासुब्बामा गरेको भाकल पुरा हुने दर्शनार्थीहरुको विश्वसा रहेको बताउँदै उनले भने, ‘अहिले भक्तजनले आफ्नो कामना पुरा भएको सुनाउँदा अहिलेपनि मन्दिरभित्र साक्षात बुढासुब्बा हुनुहुन्छ कि भन्ने जस्तो लाग्छ ।’
उनले वर्षेनी देशविदेशबाट आउने भक्तजन बढिरहेपनि व्यवस्थापन पक्ष फितलो रहेको बताउछन् । बुढासुब्बामा टाढाबाट आउने भक्तजनलाई वासस्थानको व्यवस्था गर्नु पर्ने अवस्था रहेकाले सरकारले पनि त्यसतर्फ ध्यान दिनु पर्ने पराजुलीको धारणा छ ।
इतिहास अनुसार पनि बुढासुब्बाको इतिहास २ सय वर्षभन्दा बढि देखिन्छ । बुढासुब्बाका पुजारी ७२ वर्षीय डम्बर आले मगरका अनुसार उनीहरुले १७ औं पुस्तादेखि मन्दिरमा पुजाआजा गर्दै आएका छन् । यहाँ सुरुदेखि नै मगर पुजारी रहँदै आएका छन् ।
किरातले आफ्नै आश्थाको केन्द्र र हिन्दुले आफ्नै आश्थाको केन्द्र मान्ने बुढासुब्बा खासमा सबैको साझा आश्थाको केन्द्र रहेको पुजारी आले बताउछन् । उनी भन्छन् ‘जसले जे मानेर पुरा गरेपनि हामी कसैसँग विवाद गर्दैनौं, सबैको आआफ्नो आश्था हो ।’
पुजारी आलेका अनुसार पहिला मन्दिरमा कमै मान्छे आउँथे । वैशाख पूर्णिमा र दशैंका अष्टमी र नवमीका दिन भने विशाल पुजा हुन्थ्यो । मन्दिरमा खुट्टा टेक्ने ठाउँ पाउन मुस्किल प¥थ्यो तर अरु दिन भने सुनसान जस्तै हुन्थ्यो । फाट्ट फुट्ट मान्छे आउँथे । ३५ वर्षयता भने दर्शन गर्ने मान्छेको भीड बढ्न थालेको उनले बताए ।
मन्दिरको नियमित आम्दानी भनेको भक्तजनले चढाउने भेटी हो । शनिबारको दिन पाँचदेखि सात हजारसम्म भेटी संकलन हुने व्यवस्थापन समिति सचिव उत्तम आले बताउछन् । त्यो भेटीबाटै मन्दिरमा टिका, फुल दिन सहयोग गर्ने सात आठ जना हुन्छन् । उनीहरुलाई बाँढेर तीन हजार पैंतिस सयसम्म पुजारीको भागमा पर्ने गरेको छ ।
पुजाका लागि दैनिक आवश्यक पर्ने सामग्री पुजारीले नै किन्ने गरेका छन् । यसरी संकलन भएको भेटीबाट पुजारीले आफ्नो परिवार पाल्ने र घर खर्च धान्ने गरेका छन् । पुजारी आले खलकका तीन परिवार छन् बुढासुब्बामा । उनीहरु वर्षेनी पालैपालो पुजा गर्छन् । जसले वर्षभर पुजा गर्छ, भेटी पनि उसैको हुन्छ । तीन वर्षमा मात्र फेरि पालो आउने भएकाले एक वर्षको भेटीले तीन वर्ष पु¥याउनु पर्ने अवस्था रहेको सचिव आले बताउछन् ।
यो मन्दिरको कतै गुठी पनि छैन भने कुनै सरकारी निकायबाट पनि नियमित पैसा आउँदैन । मन्दिर क्षेत्रमा ४० हाराहारीमा फुल मालाका पसल छन्, त्यसबाट मासिक ५० हजार जति आम्दानी हुने गरेको व्यवस्थापन समिति सचिव आलेको भनाई छ । मन्दिरमा व्यवस्थापन समितिले एक जना चौकीदार र एक जना सरसफाई कर्मचारी राखिएको छ । पसलको त्यो आम्दानी कर्मचारीलाई तलब दिनै ठिक्क हुने गरेको र बचेको पैसा मन्दिर र वरपरको व्यवस्थानमा खर्च हुने गरेको उनी बताउछन् ।
मन्दिरमा आउने दर्शनार्थीका कारण मन्दिर क्षेत्र भित्रका ४० वटा फूल तथा माला पसल सञ्चालकले मात्र होईन मन्दिर बाहिरका पनि त्यतिकै हाराहारीमा पसल सञ्चालकले जीविकोपार्जन गरिरहेका छन् । बाहिर खुलेका चिया नास्ता पसल, माला, फुलका पसल, मन्दिरमा चढाउने अन्डा, रक्सि जस्ता सामग्रीका पसलले राम्रै आम्दानी गरिरहेका छन् ।
केही वर्षअघि कोशी प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि मन्दिर वरिपरको पर्खाल लगाईएको छ । बुढासुब्बाका बाँसमा जथाभावि नाम लेख्ने प्रचलन बढेर बाँस मर्न थालेपछि धरान उपमहानगरपालिकाको सहयोगमा बाँस संरक्षणको काम पनि गरिएको छ । हाल पुरातत्व विभाग र दाताको सहकार्यमा मन्दिरमा पित्तलको छाना, रेलिङ, खम्बा लगाएर निर्माण गरिएको व्यवस्थापन समितिका सचिव आले बताउछन् । मन्दिरको संरक्षणका लागि व्यवस्थापन समितिमा जम्मा भएको पैसा पनि खर्च गर्ने गरेको उनको भनाई छ ।
‘सरकारले जिम्मा लिए हुन्थ्यो’
मन्दिरको भेटी र पसलहरुको भाडा बाहेक सरकारी तवरबाट नियमित सहयोग नभएकाले समस्या भएको व्यवस्थापन समिति सचिव आलेको भनाई छ ।
उनी बुढासुब्बा मन्दिरमा दर्शनार्थीहरु बढिरहेकाले यसको व्यवस्थापनमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले सहयोग गरे सहज हुने बताउछन ।
उनी भन्छन्, ‘मन्दिरको व्यवस्थापनको जिम्मा सरकारले नै लिईदिए हुन्थ्यो भन्ने लागेको छ । हामीले मात्र सञ्चालन गर्न समस्या हुँदै गएको छ । सरकारबाट सहयोगको अपेक्षा गरेका छौं ।’
रासस
फोटो क्याप्सन ः
१. बुढासुब्बा मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरु ।
२. मन्दिर क्षेत्रमा मालाको डोरी बाँध्दै युवायुवती ।
३. मन्दिर क्षेत्रमा माला बिक्री गर्न बसेका व्यापारीहरु ।