स्वर्णिम राई
धरान,
धरानको सबैभन्दा पुरानो विद्यालय पब्लिक हाईस्कुलले ७७ औं वार्षिक उत्सव मनाएको छ ।
दुई दिनसम्म सञ्चालन हुने उत्सवमा विद्यार्थीहरुले निर्माण गरेका रोबोट, ड्रोन, हस्तकलाका समान, खानेकुरा लगायतको प्रदर्शनी तथा विक्री गरिएको छ ।
विहीबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई) ले बेलुन उडाएर उत्सवको उद्घाटन गरे । सो अवसरमा विद्यार्थीले बनाएको ‘बिरन’ नामको रोबोटले नगर प्रमुख साम्पाङलाई पुष्प गुच्छा दिएर हात मिलाउँदै स्वागत गरेको थियो । त्यससँगै पब्लिककै विद्यार्थीले निर्माण गरेको ड्रोनले पुष्प वृष्टि गरेर अतिथिहरुलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख साम्पाङले विद्यार्थीले निर्माण गरेका रोबोट, ड्रोन जस्ता प्राविधिक वस्तु देखेर आफुलाई खुसी लागेको बताए । उनले विकासका लागि प्रकृति, संस्कृति र प्रविधि जोडिनु पर्ने बताउँदै भने, ‘चेतना र शिक्षाले नै विकास ल्याउने हो । सामुदायिक विद्यालयका विद्यार्थीले वार्षिक उत्सवमा यत्तिको प्रदर्शनी गर्नुले शिक्षाको गुणस्तर वृद्धि भएको बुझ्न सकिन्छ ।’
उनले स्थानीय सरकारका हैसियतले धरान उपमहानगरपालिकाले आगामी वर्ष सामुदायिक शिक्षामा लगानी बढाउने तयारी गरिरहेको बताए । विद्यार्थीहरुलाई पढेर विदेश जाने होईन, यहि देशमा केही गर्ने सोच बनाउन आग्रह गर्दै उनले भने ‘देशका लागि पढ्नेलाई इतिहासले सम्झिन्छ, पेटका लागि पढ्ने त जो पनि हुन्छ ।’
धरानमा लागुऔषध दुव्र्यसनको समस्या बढिरहेकाले आफुले सचेतना अभियान सञ्चालन गरेको जानकारी दिंदै नगर प्रमुख साम्पाङले अभिभावक र विद्यार्थीहरुलाई पनि लागुऔषध विरुद्धको अभियानमा सहभागी बन्न आग्रह गरे ।
वार्षिकोत्सवको अवसरमा विद्यालयका लागि दश लाख खर्च गरेर कोठा निर्माण गरिदिनु हुने समाजसेवी मनमोहन कर्माचार्य र उनकी श्रीमति सविता कर्मचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । विद्यालयलाई विभिन्न अवसरमा सहयोग पु¥याउने व्यक्तित्वहरुलाई पनि सम्मान प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य डा.इन्द्रमोहन झाले विद्यालयको वस्तुस्थिति बारे जानकारी गराएका थिए । वि.सं.२००३ सालमा स्थापना भएको पब्लिक हाईस्कुलमा २०७१ साल वैशाख २६ बाट विद्यालय सुधार योजना लागु गरेर अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको थियो । हाल कक्षा १२ सम्म जम्मा ३ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयमा नियमित बाहेक प्राविधिक धार तर्फ इलेक्ट्रिकल इञ्जिनियरिङ, होटल म्यानेज्मेन्ट, ब्युटिपार्लर जस्ता विषयको पनि अध्ययन अध्यापन हुँदै आएको छ । उत्सवका अवसरमा तिनै प्राविधिक धारका विद्यार्थीले खानेकुरा, विज्ञान, स्वास्थ्य देखि ब्युटिपार्लरसम्मका प्रदर्शनी राखेका छन् । विद्यार्थीहरुले नाटक, गायन र नृत्य पनि प्रस्तुत गरेका थिए । विद्यालयका प्राचार्य डा.इन्द्रमोहन झा विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई व्यवहारिक ज्ञान समेत दिन दुई दिने उत्सव आयोजना गरिएको बताए ।
पब्लिकलाई सरकारले नमूना विद्यालयमा समेत छनोट गरेको छ ।