ज्याला मजदुरी गर्नेमा लागूऔषध समस्या बढ्दो



स्वर्णिम राई , धरान

धरानमा ज्याला मजदुरी गर्ने वर्गमा लागूऔषधको समस्या बढिरहेको पाइएको छ । अघिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क तुलना गर्दा यसरी लागूऔषधको प्रयोग र कारोबारका संलग्नहरूमा ज्याला मजदुरी गर्नेहरू सबैभन्दा बढी पाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

त्यसैगरी, बेरोजगार युवा र विद्यार्थीको सङ्ख्या पनि बढिरहेको पाइएको छ । आ.व. २०७७÷०७८ मा लागूऔषध मुद्दामा ज्याला मजदुरी गर्ने २० जना पक्राउ परेकामा आ.व. २०७८÷०७९ मा ३६ र आ.व. २०७९÷०८० मा अझै बढे ३९ जना पक्राउ परेका थिए । त्यस्तै बेरोजगार युवामा आ.व. २०७७÷०७८ मा पाँचजना र आ.व. २०७८÷०७९ मा दुईजना पक्राउ परेकामा आ.व. २०७९÷०८० मा २२ जना पक्राउ परेका थिए ।

लागूऔषधको मुद्दामा पक्राउ पर्नेमा विद्यार्थीको सङ्ख्या पनि बढ्दो मात्रामा देखिएको छ । अघिल्ला दुई आर्थिक वर्षमा दुई÷दुईजना विद्यार्थी पक्राउ परेकामा आ.व. २०७९÷०८० मा सातजना पक्राउ परेका छन् । त्यस्तै उमेरको आधारमा २६ देखि ३५ वर्ष उमेर समूहका सबैभन्दा बढी छन् । प्रहरीले यो उमेर समूहकालाई अघिल्ला दुई आर्थिक वर्षमा ३२ र नौजना पक्राउ गरेकामा आ.व. २०७९÷०८० मा ४६ जना पक्राउ गरेको थियो । दोस्रोमा ८ देखि २५ वर्षसम्मका युवाको सङ्ख्या धेरै छ । १७ वर्षभन्दा कम उमेरका पक्राउ पर्नेको सङ्ख्या भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३१ जना पक्राउ परेकामा आ.व. २०७९÷०८० मा एकजना मात्र पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालयका अनुसार २०७९ साल चैत १ देखि २०८० मङ्सिर महिनासम्ममा लागूऔषधका ५० मुद्दा दर्ता भएका छन्, जसमा ७० पुरुष र एकजना महिना पक्राउ परेका छन् । चालु आ.व. २०८०÷०८१ को हालसम्म २५ वटा मुद्दामा ३९ जना पक्राउ परेका छन् । आ.व. २०७९÷०८० मा लागूऔषधका ६५ मुद्दा दर्ता भएकामा ९२ पुरुष र दुईजना महिला पक्राउ परेका थिए । आ.व. २०७८÷०८९ मा ५५ मुद्दा दर्ता भई ७९ पुरुष र चारजना महिला पक्राउ परेका थिए भने आ.व. २०७७÷०७८ मा ५७ मुद्दा दर्ता भएर ७९ पुरुष र चारजना महिला पक्राउ परेका थिए ।

लागूऔषधका कारोबारीहरूले सवारी साधनमा लुकाएर, फल्स बटन बनाएर, शरीरका विभिन्न भागमा लुकाएर लागूऔषध सेवन र बिक्री वितरण गरिरहेको पाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमराज राईले जानकारी दिए । उनका अनुसार धरानमा अवैध रूपमा प्रतिबन्धित औषधिहरूको प्रयोग बढिरहेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले हरेक शुक्रबार लागूऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेका छन् । उनी घर र विद्यालय तहबाटै सचेतना फैलाउन आवश्यक भएको ठान्छन् ।