सुम्निमा–पारुहाङ प्रतिमा निर्माणमा दुई भुपू लाहुरेले सहयोग गर्ने



धरान,

धरानका मेयर हर्क साम्पाङले अघि सारेको किरातीहरुको आदिम पुर्खा सुम्निमा–पारुहाङको प्रतिमा निर्माण अभियानमा धरान–१३ का दुई भुपू लाहुरेले १ लाख ६० हजार बढी आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
किरात राई यायोक्खा धरान–१३ द्वारा आज (मगलबार) किराती नयाँ वर्ष यलम्बर सम्बत ५०८४ को अवसरमा आयोजित ‘शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनीहरुले उक्त रकम दिने घोषणा गरेका हुन् ।

धरान–२० स्थित चिण्डे डाडामा बनाउने भनिएको सुम्निमा-पारुहाङको प्रतिमा निर्माण अभियनमा भुपू सैनिक मार्ग निबासी पूर्व भारतीय गोर्खा सैनिक अनेरी सुबेदार मेजर देश बहादुर राईले रु १ लाख ११ हजार १११ रुपैयाँ र अमरहाट निबासी पूर्व बेलायती गोर्खा सैनिक डिबी थलुङले रु ५० हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । उनीहरुले मेयर साम्पाङको उक्त अभियानको प्रशंसा गर्दै किराती नयाँ वर्षकै अवसरमा आर्थिक सहयोग दिने घोषणा गरेको बताए । कार्यक्रमका प्रमुख अतिथी किराया सुनसरीका अध्यक्ष राजेन्द्र राईले सुम्निमा पारुहाङको प्रतिमा निर्माणमा सम्पूर्ण किरातीहरु लाग्नुपर्नेमा जोड दिए । संस्थाकी उपाध्यक्ष सुनिता राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा सस्थाका सल्लाहकार अनेरी सुबेदार मेजर देश बहादुर राई, डिबी थुलुङलगायतले शुभकामना ब्याक्त गरेका थिए ।