धरान, ः धरान उपमहानगरपालिका वडा नं. २० मा पर्ने चिन्डे डाँडा (रमिते डाँडा) पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।
धरान बजारको रमणीय दृष्यका साथै इटहरी, चारकोसे झाडी लगायत तराईका गाउँहरुको दृष्यावलोकन गर्न सकिने भएकाले चिन्डे डाँडामा दैनिक सय भन्दा बढी आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् ।
चिन्डे डाँडा घुम्न जानेहरु मध्ये कोहि साथीहरुसँग मिलेर हिड्दै हाईकिङका रुपमा जान्छन् भने कोहि गाडी र मोटरसाईकलमा गएर रमाईलो गर्छन् । डाँडामा बसेर गितार बजाउँदै, गीत गाउँदै र नाच्दै रमाईलो गर्नेहरु पनि भेटिन्छन् ।
हाल अमेरिका बस्दै आएका धरान–१६ का राजेन्द्र ताम्राकार घर आएको मौकामा नजिकै घुम्ने ठाउँको खोजिमा थिए । साथीहरुको सल्लाहमा उनी चिन्डेडाँडा पुगे । पहिला नाङ्गो डाँडाका रुपमा देखेको चिन्डे डाँडा अहिले घुम्ने नयाँ गन्तव्यका रुपमा विकास भएको देख्दा उनी चकित परे । ‘पहिला यहाँ आउन पाएको थिईंन, यो ठाउँ यति रमाईलो होला भन्ने सोचेकै थिईंन ।’ चिन्डे डाँडामा घुम्दै भेटिएका उनले भने, ‘यहाँबाट धरान बजारको दृष्य राम्रोसँग हेर्न सकिने रहेछ ।’
धरानकै मिङ्मा शेर्पा पनि साथीभाईसँग रमाईलो गर्न चिन्डे डाँडा पुगेका थिए । रमाईलो र घमाईलो चिन्डे डाँडामा बसेर दृष्यपान गर्नुको आनन्द वर्णन गरेर साध्य नहुने उनको अनुभव छ । धरानबाट हिड्दै पनि पुग्न सकिने यो ठाउँ धरान, इटहरी लगायत पूर्व क्षेत्रका आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य बन्न सक्ने उनको भनाई छ । उनी भन्छन, ‘बाटो अलि राम्रो बनाउने हो भने यहाँ अझ धेरै पर्यटक आउने निश्चित छ ।’
चिन्डे डाँडा आसपासको क्षेत्रमा तामाङ समुदायको पुरानो वस्ति छ । अलि तल गुरुङ, राई, क्षेत्री ब्राम्हणको वस्ति पनि छ । गुरुङ छाप, कार्की छाप जस्ता नामले चिनिने ठाउँहरु छन् । त्यहाँको अग्लो र खुल्ला डाँडा चाहिं धरान बजारबाट देखिन्छ । धरानबाट उत्तर तर्फ हेर्दा नाङ्गो डाँडा देखिने भएकाले धरानवासीले चिन्डे डाँडा भन्दा भन्दै यसको नामै चिन्डे डाँडा रहन गएको स्थानीयवासी बताउँछन् ।
स्थानीयहरु भने यो डाँडालाई रमिते डाँडा भनेर चिन्छन् । पहिलादेखि नै यहाँबाट धरान र तराईका फाँटहरुको रमणीय दृष्य देखिने भएकाले बाटो हिड्ने मान्छेहरु अडिएर रमित हेर्थे । रमित हेर्ने डाँडा भएकाले रमिते डाँडा भन्ने गरिएको स्थानीयको कथन छ । तर धरानवासीले चिन्डे डाँडा भन्दा भन्दै बाहिरका मान्छेले चिन्डे डाँडा भनेर चिन्न थालेपछि अहिले सबैले चिन्डे डाँडा भन्ने गरेका छन् । पहिला उजाड र सुनसान गाउँका रुपमा रहेको यो ठाउँमा पर्यटकको चहलपहल हुन थालेको एक दशक भयो । पहिले चिन्डे डाँडाबाट प्याराग्लाईडिङको उडान पनि हुने गरेको थियो । प्याराग्लाईडिङले पनि यो ठाउँमा पर्यटक आकर्षित गरेको थियो तर पछिल्लो समय त्यस ठाउँबाट प्याराग्लाइडिङ उडान बन्द भएको छ । बरु अहिले प्याराग्लाईडिङ उडाउने ठाउँमा होटलहरु खुलेका छन् ।
अहिले दिनमा दुई सय जनाको हाराहारीमा मान्छेहरु घुम्न आउने गरेको स्थानीय होटल व्यवसायी लक्ष्मी तामाङको भनाई छ । उनका अनुसार यो ठाउँमा घुम्न आउनेहरुले अग्र्यानिक खानेकुराको स्वाद लिन पाउँछन् । लोकल कुखुराको मासु, तोङ्बा, सुकुटी, गुन्द्रुकको अचार र भट्टु धानको भात यहाँको मौलिक परिकार हो । त्यस बाहेक बजारमा पाईने अन्य चाउमिन, मम, चटपटे जस्ता खानेकुरा पनि पाईने उनी बताउछन । उनी भन्छन, ‘यहाँ तोङ्बा र सुकुटी धेरै बिक्छ । एकपटक आएका मान्छे फेरि फेरि आईरहन्छन् ।’
यो डाँडामा अहिले बास बस्नका लागि होटल र खानाका लागि खाजाघरहरु खुलेका छन् । धेरै जसो दुई चार घन्टा बसेर फर्किने गरी आन्तरिक पर्यटकहरु चिन्डे डाँडा आउने गरेको र केही भने बास बस्दै आउने गरेको अर्की स्थानीय होटल व्यवसायी बसन्ती तामाङको भनाई छ । उनका अनुसार धरान, इटहरीका मात्र होईन झापा, चितवन, काठमाडौंदेखिका मान्छेहरु पनि धरान घुम्न आएको मौकामा यहाँ आउने गरेका छन् । ‘टाढादेखि आएका मान्छेहरु पनि रमाईलो मानेर फर्किनु हुन्छ । हामी त्यसमै खुसी छौं ।’ उनले भने
चिन्डे डाँडा भन्दा अलि माथि केही वर्षअघि कोशी प्रदेश सरकारको सहयोगमा भ्यु टावरपनि निर्माण भएको छ । अलि तल पर्यटन व्यवसायी बासु बराल र एलिना मगरले सेछ एड्भेन्चर पार्क र रिसोर्ट सञ्चालन गरेका छन् । केही परको तामाङ वस्तिमा होमस्टे पनि सञ्चालित छ । पर्यटन व्यवसायी एलिना मगर चिन्डे डाँडा र आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षण रमाईला स्थलहरु रहेकाले पछिल्लो समय पर्यटनको विकास भईरहेको बताए ।
धरानबाट चिन्डे डाँडा पुग्न कच्चि बाटो छ । हिडेर जाँदा करिब एक घन्टा लाग्छ भने मोटर साईकल वा गाडिमा जाँदा १५ देखि २० मिनेटमा पुगिन्छ । सर्दु खोलामा पुल निर्माण भएपछि चिन्डे डाँडा पुग्न सहज भएको छ । तर अझै कच्चि बाटो भएकाले कतिपयले अफ््यारो मान्ने गरेका कारण राम्रो बाटो बनाउन ध्यान दिनु पर्ने अवस्था रहेको व्यवसायी मगर बताउछन ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा हाल चिन्डे डाँडा क्षेत्रमा किरात राई समुदायका देउता सुम्निमा पारुहाङको प्रतिमा निर्माण गरिने भएको छ । सुम्निमा पारुहाङको प्रतिमा स्थापना पछि यो क्षेत्रको पर्यटन विकास तिब्र गतिमा अघि बढ्ने मेयर साम्पाङको विश्वास छ । रासस