धरान (सुनसरी), २७ माघ ः धरानमा सोनाम ल्होसारको अवसरमा बृहत सांस्कृति पर्यटन महोत्सव सुरु भएको छ ।
शनिबार धरान–१२ स्थित पब्लिक हाईस्कुल प्राङ्गणमा धरान उपमहानगर प्रमुख हर्कराज राईले महोत्सवको उद्घाटन गरे । उद्घाटनको अवसरमा बोल्दै नगर प्रमुख राईले सबै समुदायले आफ्ना संस्कार संस्कृति संरक्षण गर्नु पर्नेमा जोड दिए ।
महोत्सवमा परम्परागत संस्कार, संस्कृति झल्किने गरी खरले छाएको घर र परम्परागत कृषि औजारहरु राखिएको छ । तामाङ समुदायको घरमा प्रयोग गरिने ढिकी, जाँतो, ओखल, ठेकी, मदनीलगायतका सामाग्रीसँगै हलो, जुवा, घुमलगायतका सामाग्री महोत्सवको आकर्षण बनेका छन् ।
महोत्सवमा परम्परागत खानाका परिकार पनि प्रदर्शनमा राखिएको छ । नेपाल तामाङ घेदुङ धरान नगर समितिको आयोजनामा सुरु भएको महोत्सव फागुन ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।