धरान ः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ ।
शनिबार प्रतिष्ठान व्यवस्थापन र आन्दोलनरत शिक्षक तथा कर्मचारी कल्याण समाजबीच ६ बुँदे वार्ता भएपछि विगत २७ दिनदेखि जारी आन्दोलन टुङ्गिएको हो । सहमतीपछि भोलिबाट शिक्षक, कर्मचारी तथा चिकित्सक नियमित काममा फर्किने भएका छन् ।
शनिबार भएको वार्तामा प्रतिष्ठान व्यवस्थापन र आन्दोलनरत पक्षबीच रोकिएको बढुवा प्रक्रिया अगाडि बढाएर आगामी फागुन ६ गतेदेखि अन्तर्वार्ता सुरु गर्ने र त्यसको एक सातभित्र नतिजा प्रकाशित गर्ने सहमति भएको छ । त्यस्तै आन्दोलनकारीलाई पूर्वाहग्रह राखी कुनै बहानामा कारबाही नगर्ने, आजैका मितिबाट आन्दोलनकारी काममा फर्किने, प्रतिष्ठानको पठनपाठन कार्य सुचारु गर्ने र पढन पाठनको माग गर्दै आन्दोलनरत विद्यार्थीले समेत अनसन अन्त्य गर्ने सहमती भएको छ ।
उच्च अदालत विराटनगरले बढुवा प्रक्रिया अघि बढाउन सक्ने आदेश दिएपछि शुक्रबार राति नै कार्यकारिणी समितिको बैठक बसेको थियो । उक्त बैठकले फागुन ६ गतेदेखि बढुवाको प्रकृया सुरु गर्ने निर्णय गरेपनि आन्दोलनर शिक्षक, कर्मचारीले प्रतिष्ठानका कायमुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीले वार्ता गरेर लिखित सहमती जनाउनु पर्ने माग गरेपछि शनिबार वार्ता भएको हो ।
वार्तापछि सहमतीपत्र जारी गर्दै प्रतिष्ठान व्यवस्थापन पक्ष, आन्दोलनरत शिक्षक, कर्मचारी र विद्यार्थीले आन्दोलन अन्त्य भएको जनाएका हुन् । सहमतिपत्रमा प्रतिष्ठानका कामु उपकुलपति प्राडा कार्की, शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मा, रजिष्ट्रार प्राडा सूर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक डा जगतनारायण प्रसाद, शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराल अहमद खान, कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकाल र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओमशान्ति रजकले हस्ताक्षर गरेका छन् ।