स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भुमिका महत्वपूर्ण : मन्त्री राई




धरान : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताएका छन् ।
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, आमसञ्चार समितिले आज धरानमाआयोजना गरेको ’स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका’ विषयक एकदिने कार्यशालामा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री राईले देशमा रहेको विविधता नै पहिचान भएकाले सञ्चारकर्मीलाई देशको विविधता र ओझेलमा परेका सम्पदा संरक्षणका लागि कलम चलाउन आग्रह गरे ।
उनले भने, ’ प्रविधिमा पनि ज्ञान भएका सञ्चारकर्मी उत्पादन भईरहेका छन् । सञ्चारकर्मीलाई जिम्मेवार , कर्तव्य निष्ठ बनाउन युनेस्कोको भुमिका महत्वपूर्ण छ ।’
कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रतिनिधिसभा सदस्य शुसिला श्रेष्ठले स्थानीय संस्कार, संस्कृति संरक्षणका लागि कलम चलाउन आग्रह गरे । उनले युनेस्कोले काठमाडौ बाहिर पहिलो पटक सम्पदा संरक्षणका लागि कार्यक्रम गरेको बताउँदै यसले देशका सबै क्षेत्रको संस्कृति संरक्षणमा भूमिका खेल्ने बताए ।
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग, आमसञ्चार समितिका संयोजक नम्रता शर्माले परम्परागत सञ्चारका माध्यमदेखि अहिले आएको एआई प्रविधिसम्म आउँदा चूनौति समेत थपिएकाले सञ्चारकर्मीले सचेत भएर काम गर्नु पर्ने बताए । स्थानीय सम्पदा संरक्षणमा सञ्चारकर्मीको भूमिका विषयक अवधारणापत्र प्रस्तुत गर्दै उनले सञ्चारकर्मीले खोज अनुसन्धान गरेर सम्पदा संरक्षणमा भूमिका खेल्नु पर्ने बताए ।
चोमोलुङ्मा युनेस्को केन्द्रका अध्यक्ष हरिवंश किरातले पनि अवारणापत्स प्रस्तुत गर्दै स्थानीय सम्पदाहरु नासिंदै गएकाले तिनको संरक्षणमा सबैले ध्यान पुर्याउनु पर्ने बताउँदै त्यसमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिएका छन् ।
वरिष्ठ पत्रकार हर्ष सुब्बाले स्थानीय पत्रकारिता सतही हुन थालेको बताउ । पत्रकारिता हातहातमा पुगेको बताउँदै उनले यस्तो अवस्थामा पत्रकारिताको आचारसंहिताको पालनामा ध्यान दिनु पर्ने बताए ।
सञ्चार क्षेत्रले सम्पदा संरक्षणका लागि गहिराइमा पुगेर अध्ययन गरेर समाचार सम्प्रेषण गर्नु आवश्यक रहेको बताउनु भयो । धरानका मठ मन्दिरको संरक्षणमा संचारकर्मीले ईतिहासको अध्ययन गरेर लेख्नुपर्ने उनले बताएका छन् ।
कार्यक्रममा आदिवासी जनजाति अभियन्ता गोपाल देवानले टिप्पणी प्रस्तुत गर्दै आदिवासीका महत्त्वपूर्ण स्थलहरु ओझेलमा परिरहेको अवस्थामा सञ्चारकर्मीले ध्यान पुर्याउनु पर्ने बताएका ।
त्यस्तै आयोगका सहायक महासचिव रामेश्वर प्रसाद यादवले युनेस्को र आयोगका विषयमा जानकारी गराएका थिए ।