संस्कृत भाषालाई सबल बनाएर व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक ः मन्त्री राई




धरान, ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले संस्कृत भाषा संसारकै सर्वोत्कृष्ट भाषा मध्ये एक भएकाले यसको संरक्षण गर्ने मात्र होईन सबल बनाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका छन् ।


आज पण्डित छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानले धरान–१४ स्थित पिण्डेश्वर विद्यापीठमा आयोजना गरेको स्मारक अनावरण तथा प्रतीक्षालय हस्तान्तरण समारोहमा बोल्दै मन्त्री राईले संस्कृत भाषाको महत्व बारे प्रष्ट पार्नु भएको हो । उनले अहिले संस्कृत भाषा संरक्षण अवस्थामा देखिएकाले अब यसमा दख्खल राख्ने जनशक्ति उत्पादन गर्नु पर्नेमा जोड दिए ।


मन्त्री राईले भने, ‘संस्कृत भाषामा धेरै ठूलो ज्ञानको भण्डार लुकेको छ । संस्कृतका ग्रन्थहरुबाट हामीले ज्ञान, विज्ञान र प्रविधिका धेरै कुरा सिक्न सक्छौं ।’
मन्त्री राईले संस्कृत भाषामा दखल राख्न सके पूर्वीय दर्शनसँगै ज्ञान, विज्ञान र धेरै सिद्धान्तका कुरा बुझ्न सकिने भएकाले यसमा दक्ष बन्न सक्नु पर्ने बताए । उनले त्यसका लागि सहयोग गर्न आफुसँधै तयार रहेको पनि बताए ।


मन्त्री राईले विद्यापीठको प्राङ्गणमा पूर्वीय विद्धान तथा समाजसुधारक पं.छविलाल पोखरेलको सालिक अनावरण गर्नु भएको थियो । उनले पं. पोखरेलले समाजमा पु¥याउनु भएको योगदानको पनि चर्चा गरे ।
सो अवसरमा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले पं. पोखरेल समाज सुधारका लागि महत्वपूर्ण काम गरेको भन्दै उनको व्यक्तित्वको चर्चा गरे । अर्का प्रदेशसभा सदस्य विजयकुमार राई र निवर्तमान प्रतिनिधिसभा सदस्य जयकुमार राईले पनि पण्डित पोखरेलले समाजमा पु¥याएको योगदानको मुक्त कण्ठले प्रशंसा गरे । कार्यक्रम भाषाविद् प्रा.डा.टंकप्रसाद न्यौपानेले सञ्चालन गरेका थिए ।