पहिचानवादी र कोशी प्रदेश सरकारबिच दोस्रो चरणको वार्ता सुरु



विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिबिच दोस्रो चरणको वार्ता सुरु भएको छ । विराटनगरको होटल स्टर्न स्टारमा बुधबार दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको हो । 

वार्तामा सरकारको तर्फबाट वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगू, सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलको सहभागिता छ ।

यस्तै पहिचानवादीहरूको तर्फबाट वार्ता टोलीमा डकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, अर्जुन जम्नेली राईलगायतको उपस्थिति छ । गत माघ २६ गते भएको वार्तामा पाँच बुँदे सहमति भएको थियो । पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने र आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिने त्यसबेला सहमति भएको थियो ।