धरान एक्स्पोको सम्पूर्ण तयारी पुरा




धरान ,व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको ‘धरान एक्स्पो २०८०’ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
शुक्रबारबाट धरान–१६ स्थित रंंगशालामा सुरु हुने धरान एक्स्पोको संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किरातीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । फागुन २३ गते सम्म सञ्चालन हुने एक्सोमा हस्तकलाका सामग्री, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुलाई प्राथमिकता दिईने आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
एक्स्पोका लागि १ सय ५० भन्दा बढी स्टल निर्माण गरिएका छन् । ति स्टलमा विभिन्न व्यापार व्यवसायका साथै धरान तथा आसपासका धार्मिक क्षेत्रको प्रचारप्रसार समेत गरिने आयोजकले जनाएको छ । एक्स्पोमा धार्मिक तीर्थस्थल दन्काली, बुढासुब्बा, पिण्डेश्वर, पञ्चकन्या, विष्णुपादुका, बराहक्षेत्र, औलिया बाबा मन्दिर लगायतको प्रचारप्रसार गरिने अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै साहसिक खेलकुदको प्रवद्र्धन गर्दै प्याग्लाइडिङ, ¥याफ्टिङ, जिपलाइन, स्काई साइकिलिङ, ह्याङ्गिङ ब्रिजलगायतका विभिन्न टुर प्याकेजको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
स्टल व्यवस्थापन समितिका संयोजक विष्णु बरालले एक्स्पोमा कृषि उत्पादनलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिए । एक्स्पोमा हरेक साँझ सांगीतिक कार्यक्रम समेत हुने आयोजकले जानकारी दिएको छ ।