धरान, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले मिहिन ढंगले अध्ययन नगरी धरानमा तत्काल एयरपोर्ट बनाउन नसकिने बताएका छन्।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको धरान एक्स्पो २०८०को उद्घाटन गर्दै उनले राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशमा २२ वटा एयरपोर्ट अलपत्र परेकाले धरानमा एयरपोर्टको सम्भाव्यताका लागि पनि मिहिन ढंगले अध्ययन भईरहेको बताए ।
उनले प्राविधिकहरुले धरानमा एयरपोर्टका लागि अध्ययन भईरहेको स्थानमा एकतर्फी मात्र उडान अवतरण गर्न मिल्ने जानकारी दिएको बताउँदै मन्त्री किरातीले भने ‘जहाज चलाउनु भनेको टेम्पो चलाउनु जस्तो होईन त्यसैले एयरपोर्ट सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भन्ने बुझेर मात्र एयरपोर्ट बनाउनु पर्छ ।’
उनले धरानमा स्थानीय उत्पादन, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि धरान एक्स्पो आयोजना गरिएकाले सहभागी हुन सबैमा आग्रह समेत गरे । धरानको विकासका लागि धरान एक्लै अघि बढ्न नसक्ने भन्दै उनले धरानले चतरा, बराहक्षेत्र, धनकुटा, तेह्रथुम, ताप्लेजुङ लगायतका ठाउँका धार्मिक तथा पर्यटकीयस्थलहरुसँग सहकार्य गरेर अघि बढ्नु पर्ने बताए । उनले भने ‘आसपासका क्षेत्रसँग सहकार्य गरेर भारत र बंगलदेशसम्म यो क्षेत्रको प्रचार गर्न सके धरानले ठूलो फाईदा लिन सक्छ ।’
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्डीराज ढकालले धरान एक्स्पोमा पर्यटन मन्त्री किरातीको उपस्थितिले नीजि क्षेत्रलाई प्रोत्साहन मिलेको बताए । उनले पछिल्लो समय व्यापार व्यवसाय क्षेत्र धरासायी बनेको भन्दै नीजि क्षेत्रलाई उकास्न राज्यले सहयोग गर्नु पर्ने माग गरे ।
एक्स्पोको सफलताका लागि कोशी प्रदेशसभा सदस्य विजयकुमार राई, रमेश बस्नेत, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई लगायतले शुभकामना व्यक्त गरे ।
एक्स्पोको आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले व्यवसायीहरुका हस्तकला, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुलाई प्राथमिकतामा राखेर निकासी र पैठारी गर्ने एक्स्पोको मुख्य उद्देश्य रहेको बताए । फागुन २३ गतेसम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न प्रकारका १ सय ५० भन्दा बढी स्थल रहेका छन् ।
‘अर्थतन्त्र सुधार हुँदै’
यसैबीच मन्त्री किरातीले आज दिउँसो धरानमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै मुलुकको अर्थतन्त्र सुधारिदै गएको बताएका छन् ।
प्रेस सेन्टर सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री किराँतीले बिग्रिएको अर्थतन्त्रलाई सरकारले सुधार्ने काम गरेको बताए । उनले हिजोको भन्दा आज अर्थ तन्त्र बलियो भएको दाबी गदै अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याएर संवृद्धिको आधार तय गर्न सरकार कोसिसमा रहेको बताए ।
फरक प्रशंगमा बोल्दै मन्त्री किरातीले सत्ता गठबन्धनलाई अझ बलियो बनाउने र जनताप्रति उत्तरदायित्व वहनमा गम्भीर बन्ने बताएका छन् ।
उनले राष्ट्रिय परिस्थितिलाई आत्मसात गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा लड्ने् सबै शक्तिहरु एकै ठाउँमा उभिनु आवश्यक देखिएको भन्दै जनतामा आशा जगाउनका लागि राष्ट्रिय सहमतिको सरकार बन्न सके लाभदायक हुने पनि बताए ।रासस