बिर्तामोड । छैटौं अर्ना झापा गोल्ड कपको उद्घाटन खेलमा एपीएफ विजयी भएको छ । संकटा फुटबल क्लब काठमाडौँलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफ क्वार्टर फाइनलमा समेत प्रवेश गरेको हो।
शनिबारबाट डोमलाल राजवन्शी रंगशालामा सुरु भएको प्रतियोगितामा एपिएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो ।
संकटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो ।
खेलको चौथो मिनेटमै एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन् । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो ।
१३ औँ मिनेटमा १८ यार्डबाट अनिस महर्जनको प्रहार आकासियो । २० मिनेटमा अनिसकै प्रहार गोल रक्षकले विफल बनाए । २४ औँ मिनेटमा कुलदिप कार्कीको पासमा गोल पोस्ट नजिकै रहेका अनिसको हेडर बाहिरियो ।
५५ औँ मिनेटमा एपिएफका अनिस रानाले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार संकटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाए । ७६ औँ मिनेटमा एपिएफका प्रदिप लामाको प्रहार बारको केही नजिकबाट बाहिरियो ।
अतिरिक्त समयमा दिपेश धिमालले मैदानको मध्यभागबाट गरेको कडा प्रहार संकटाका गोलरक्षकले मुस्किलले पञ्च गरेर बताए । खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएको एपिएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।
३४ औँ मिनेटमा संकटाका चन्दन दासले गरेको शक्तिशाली प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए । ६० औँ मिनेटमा संकटाका कप्तान गणेश हमालको हेडर एपिएफका गोलरक्षकले बचाए ।
खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको विजेताले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । आइतबारको खेल नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजकले जनाएको छ ।
नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको खेल आगामी फागुन २८ गते सम्पन्न हुनेछ ।