स्वर्णिम राई
धरान, २० फागुन , धरान उपमहानगरपालिका वडा नं.८ मा निर्माण भईरहेको धरान स्मार्ट बसपार्कको काम अन्तिम चरणमा पुगेको छ ।
करिब एक विगाहा ७ कट्ठा क्षेत्रफलमा बनिरहेको स्मार्ट बसपार्क आयोजनाको हालसम्मको भौतिक प्रगति ८० प्रतिशत र वित्तिय प्रगति ७५ प्रतिशत सम्पन्न भएको हालै बसपार्कको अनुगमन गर्नु भएको धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले जानकारी दिए ।
नेपाल सरकारको ५० प्रतिशत अनुदान र धरान उपमहानगपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण भएको हो । ३३ करोड ७० लाख ४७ हजार ३ सय ३७ रुपैयाँ ६५ पैसा लागत अनुमान गरिएको स्मार्ट बसपार्क आयोजनाको बिकोई गितान्जली जेभी दुहबी सुनसरीले २३ करोड १५ लाख ३ हजार २ सय ७७ रुपैयाँ ४६ पैसामा ठेक्का पाएको थियो । ठेक्का सम्झौतापछि ३ वर्षमा काम सम्पन्न गर्ने गरी २०७८ असार ३० मा कार्यादेश पाएको बिकोई गिताञ्जलीले हालसम्म बसपार्क टर्मिनल भवनको काम सकिसकेको छ भने विद्युत र पानीको लाईन विस्तारको काम गरिरहेको छ । त्यस्तै बाह्य सडक, मार्बल, फल्स सिलिङ लगाउने काम भईरहेको कम्पनीले जनाएको छ ।

आयोजना अन्तर्गत बेसमेन्ट पार्किङ सहितको तीन तले टर्मिनल भवन बनिसकेको छ । यो बसपार्कबाट ३७ वटा बस र २६ वटा जीप एकसाथ सञ्चालन गर्न सकिने बताइएको छ । योजना अनुसार उक्त भवनको बेसमेन्टमा ७२ वटा दुई चक्के सवारी साधन, ६० वटा अटो तथा केही कार र जीप राख्न सकिन्छ भने विद्युतीय जेनेरेटर तथा अन्य स्टोर सम्बन्धि समान राखिने छ ।
त्यस्तै भवनको जमिन तलामा करिब ३०० जना बस्न मिल्ने यात्रु प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनी मार्ट, यात्रु ओर्लन तथा चढ्न २२ वटा अटो रहने छन् । त्यसैगरी भवनको पहिलो तलामा धरान उपमहानगरपालिकाको आम्दानीको प्रयोजनका लागि पसल राख्न सकिने १८ वटा कोठा रहेका छन् । त्यस्तै १२ वटा एचेट ट्वाईलेट बाथरुम र एसी सहितका होटल लजका लागि कोठा रहेका छन् भने केही ठाउँ रेष्टुरेन्ट तथा कफी शपका लागि र केही सार्वजनिक शौचालय, कार्यालय लगायतका लागि छुट्याइएका छन् ।
बसपार्कको अधिकांशजसो काम सम्पन्न भईसकेको र हाल फिनिसिङको काम धमाधम भईरहेकाले अबको तीन महिनाभित्र सम्पूर्ण काम सकिने ठेकेदार सपनकुमार दासले बताए । उनले आफुले पाएको समयभित्रै काम सम्पन्न गर्ने बाचा गरे । ठेकेदार कम्पनी बिकोई गितान्जली जेभी दुहबी सुनसरीका साईड इञ्जिनियर सरोजकुमार यादव पनि हालसम्मको प्रगती राम्रो रहेकाले अबको तीन महिनामा काम सम्पन्न हुने बताए ।
धरानमा लामो समयदेखि व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भएको छ । धरानको मुख्यबजार भानुचोकमा अस्तव्यस्त रुपमा बसपार्क सञ्चालन गरिएको छ भने लामो दुरीका सवारी साधनका लागि धरानको सदनरोडमा पनि बसपार्क निर्माण गरिएको छ । तर त्यसले मात्र धान्न नसकेपछि विभिन्न ठाउँमा विकल्प खोजिएको थियो । धरान—८ स्थित सुन्दरवस्ति आयोजना क्षेत्रमा स्मार्ट बसपार्क निर्माण सुरु भएपछि पनि विभिन्न विवाद उत्पन्न भएको थियो । सबै समस्याहरु पार गर्दै बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब चाँडै धरानको बसपार्कको समस्या समाधान हुने उपमहानगरपालिकाका उपप्रमुख बेघा बताउछन् । उनले भने‘बसपार्कको अनुगमन गर्दा धेरै काम सम्पन्न भइसकेको र अन्तिम चरणका कामहरु भईरहेको पाईयो । अब चाँडै धरानको बसपार्क समस्या समाधान हुनेमा आशावादी छौं ।’