धरान, २७ फागुन , धरानमा जारी २४ औं बुढासुब्बा गोल्डकपको आज दोस्रो दिनको खेलमा काठमाडौंको न्युरोड टिम (एनआरटी) ले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजीत गरेको छ । जीतसँगै एनआरटीले सेमिफाइनलको यात्रा तय गरेको छ ।
आज धरान रङ्गशालामा भएको दोस्रो क्वाटर फाइनल खेलको चौथो मिनेटमा त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आले मगरले गोल गरेपछि खेला रोमान्चक बनेको थियो । त्यसपछि खेलको १४ औं मिनेटमा एनआरटीका खेलाडी शिशिर लेखी पहिलो गोल गरेका थिए । एनआरटीकै अफिज ओलावालेले ६० औँ मिनेटमा गोल गरेर जीत सुनिश्चित गरेका थिए ।
आजको खेलको प्येयर अफ द म्याच एनआरटीका शिशिर लेखी घोषित हुँदै नगद १० हजार पुरस्कार पाए । भोलिको तेस्रो क्वाटर फाइनल खेल नेपाल पुलिस क्लब र मोरङ फुटबल संघबीच हुने आयोजकले जनाएको छ ।