इलाम-२ नं. क्षेत्रमा पहिचानवादिको साझा उमेदवार थेगिम



इलाम । पहिचानवादीहरुले आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उप-निर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले साझा उम्मेदवारका रुपमा डकेन्द्रसिंह थेगिम लिम्बूलाई अगाडि सार्ने घोषणा गरेका हुन् । थेगिम हाल संघर्ष समितिका अध्यक्ष समेत हुन् । संघर्ष समितिमा किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङ सहितका ४१ वटा घटकहरु सहभागी छन् ।

पत्रकार सम्मेलनमा बोल्दै थेगिमले पहिचानलाई नामेट पार्न कोसिस गरिएको भन्दै त्यसका विरुद्ध पहिचानको पक्षमा आफ्नो उम्मेदवारी रहेको बताए । त्यस्तै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा लगायतले बोल्दै पहिचान पक्षधरको तर्फबाट डकेन्द्रसिंह थेगिम लिम्बूलाई स्वतन्त्र र साझा उम्मेदवारका रुपमा अगाडि बढाइएको बताए ।

गत निर्वाचनमा निर्वाचित नेकपा एमालेका तर्फबाट चुनाव जितेका उम्मेदवार सुवाषचन्द्र नेम्वाङको निधन भएपछि रिक्त इलाम २ मा उप-निर्वाचन हुन लागेको हो ।