स्वर्णिम÷रासस
धरान, चैत्र २, नन्दहरुसँग भेटघाट र घुमघामका लागि भोजपुरको हतुवागढी गाउँपालिका–५ की कुलबुङ राई आफ्ना श्रीमान् किसानसँगै फागुन २३ गते तराई झरेका थिए रमाईलो भेटघाट र घुमघाम सकेपछि बिहीबार इटहरीबाट बोलेरो जीप चढेर घर फर्किने क्रममा उदयपुरको मैनामैनीमा दुवै जना दुर्घटनामा परे । श्रीमान्–श्रीमति दुवै घाईते भएपछि उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । उपचारका क्रममा उनका श्रीमान् किसनको निधन भयो । हात खुट्टा र छातीमा चोट लागेर सख्त घाईते कुलबुङको भने प्रतिष्ठानमा उपचार भईरहेको छ । प्रतिष्ठानको आकस्मिक कक्षको शैयामा उपचाररत उनले भने, ‘गाडीभरि मान्छे नै मान्छे थिए, एक्कासी गाडि तल झ¥यो । बाटो नै खराब भएकाले यस्तो घटना हुन पुग्यो । मैले श्रीमान गुमाउन पुगें ।’
उनी जस्तै भोजपुरक हतुवागडीका १७ वर्षीय सुनिल परियार काकाको बिहे भोज खान आमासँगै फागुन २१ गते उदयपुरको रामपुर झरेका थिए । बिहे सकेर विहीबार विहान घर फर्किने क्रममा उनी पनि दुर्घटनामा परे । उनको आमा ३१ वर्षीया सबिना परियारपनि घाईते भएका छन् । दुवै आमा छोराको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित आकस्मिक कक्षमा उपचार भईरहेको छ ।
घाईते सुनिलका अनुसार गाडीका चालकसमेत गरी अगाडीको सिटमा ४ जना अटिनअटि बसेका थिए । पछाडि पनि मान्छे टनाटन थिए । ‘म गाडीको अन्तिम सिटमा बसेको थिएँ । धुलैधुलो र खाल्डाखुल्डी भएको बाटोमा गाडी तीन चार पल्ट हल्लिए जस्तो भयो ।’ उनी घटना बारे सुनाउछन्, ‘त्यसरी गाडी हल्लिँदै सडकबाट झर्न खोजिरहेको थियो तर चालकले त्यसमा ध्यान नदिई गाडी हाँकिरहनु भएको थियो, एकैछिनमा गाडी खस्यो। त्यसपछि मैले होस नै पाईन ।’
घटना सपना जस्तै लागिरहेको भन्दै उनले होस आउँदा आफु भीर मुनि बारीको कान्ला जस्तो ठाउँमा रहेको थाहा पाएको बताए। उनी भन्छन्, ‘म होस्मा आउँदा त आमा पनि मेरो छेउमा घाईते हुनु भएको रहेछ । आफु घाईते भएपनि आमाले मलाई बोलाईरहनु भएको रहेछ ।’
दुर्घटनामा सुनिलको एउटा खुट्टा भाँच्चिएको छ भने आमा सबिनाको खुट्टा र निधारमा गहिरो चोट लागेको छ । घाईते सुनिल अहिले मैनामैनीको बाटो सम्झिँदा नै डर लागिरहेको बताउछन् । उनी भन्छन्, ‘बाटो राम्रो भएको भए, सायद यस्तो दुर्घटना हुँदैनथ्यो । हामी घाईते हुँदैनथ्यौ अनि अरुले पनि ज्यान गुमाउनु पर्दैन्थ्यो ।’
भोजपुरको दक्षिणी क्षेत्रका बासिन्दाका लागि तराईका जिल्लाहरुमा आउजाउ गर्ने छोटो दुरीको यो सडक निक्कै अफ्ठ्यारो छ । सुनसरीका धरान वा इटहरीबाट चतराघाटहुँदै कोशीपुल तरेर उदयपुरको कोठूबाट सप्तकोशी नदी पारिको भीरको यो बाटो मैनामैनी दुधकोशी किनारको चुहारसम्म पुग्छ । चुहारमा २ वर्षमा सक्ने गरी पक्कीपुलको ठेक्का लागेको तीन वर्ष हुँदा समेत आधा काम पनि सकिएको छैन । पक्की पुल नभएपछि तराईबाट भोजपुर जाने गाडी उदयपुरको चुहार पुलवारि सम्म मात्र पुग्छन् । भोजपुरका वासिन्दाले दुधकोशीको झोलुङ्गे पुल तरेर फेरि अर्को गाडीमा चढ्नपर्छ गन्तव्यमा पुग्न ।
चुहार पुल समयमा नबनेपछि त्यहाँसम्म पुग्ने कच्ची सडकपनि राम्रोसँग बन्न सकेको छैन । भएको कच्चि बाटोपनि खाल्डाखुल्डी र धुलोले अस्तव्यस्त छन् । त्यहि अस्तव्यस्त सडकमा पुराना जीप र बोलेरोमा टनाटन यात्रु कोचेर ल्याउने लैजाने गरिएको व्यवसायी रमेश हतुवाली बताउछन् । दुर्घटना थाहा पाउने बित्तिकै एम्बुलेन्स लिएर घटनास्थल पुगी उद्धार गरेर घाईतेलाई अस्पताल पु¥याएका व्यवसायी हतुवाली सडक र पुलका विषयमा पटक पटक आवाज उठाउँदा पनि सुनुवाई नहुँदा अहिले यस्तो दुर्घटना भोग्नु परेको बताउछन् । चुनावका बेला चुहारमा पक्की पुल बनाउने विषय र यो सडकको विषयलाई प्रमुख एजेन्डाका रुपमा प्रस्तुत गर्ने दल र नेताहरुले ठेकेदारले लापरबाही गर्दा समेत ध्यान नदिएको उनको गुनासो छ । उनी भन्छन, ‘यो क्षेत्रमा सडकको दुरावस्था छ, त्यसमाथि पुराना गाडीमा भरिभराउ यात्रु हालेर कुदाउने चलन छ । यो अवस्था सुधार नगर्ने हो भने अझै दुर्घटनाको सम्भावना उत्तिकै छ ।’
चुहारमा पक्की पुल निर्माण भए विशेषगरी भोजपुरको दक्षिणीभेगमा पर्ने हतुवागढी, रामप्रसाद राई र आमचोक गाउँपालिका तथा खोटाङको साकेला गाउँपालिकाका बासिन्दाका लागि तराईका जिल्ला आवत जावत गर्न आधा दुरी छोटिन्छ । दक्षिण भोजपुरको केन्द्र घोडेटारबाट चतराहुँदै धरान आईपुग्न ५९ किलोमिटर दुरी पर्छ । त्यस्तै भोजपुर सदरमुकामबाट घोडेटार, चतरा हुँदै धरान आईपुग्न ९५ किलोमिटर पर्छ । तर घोडेटार बजारबाट भोजपुर सदरमुकाम, धनकुटा हुँदै धरान आईपुग्न करिब २ सय किलोमिटर यात्रा गर्नु पर्छ ।
दक्षिण भोजपुरका वासिन्दालाई सुविधा पु¥याउने उद्देश्यले कोशी प्रदेश सरकारले गौरवको योजना अन्तर्गत २०७७ सालमा चुहार पुलको ठेक्का लगाएको थियो ।
२०७७ असोज २६ मा प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईबाट शिलान्यास भएको चुहार पुल दुई वर्षभित्र अर्थात् २०७९ कात्तिकसम्ममा निर्माण सम्पन्न गर्ने गरी कालिका प्यासिफिक जेभीले २१ करोड २३ लाख १२ हजार चार सय सात रुपैयाँमा ठेक्का पाएको थियो । तोकिएको समयमा पुल निर्माण नभएपछि २०७९ चैत ६ गते कोशी प्रदेश सभा सदस्य सिर्जना राई, पूर्व मुख्यमन्त्री शेरधन राई, यातायात पूर्वाधार निर्देशनालय इटहरीका निमित्त प्रमुख जितेन्द्रकुमार कर्ण, ठेकेदार कम्पनीका प्रतिनिधि ठाकुरप्रसाद कँडेल लगायतका सरोकारवालाहरूबीच भएको बैठकले चार बुँदे निर्णय गर्दै २०८० असोज १३ सम्ममा काम सक्ने गरी तत्काल निर्माण अघि बढाउने सहमति गरेको थियो । तर दोस्रो पटकको म्याद पनि सकिएपनि पुल अलपत्र अवस्थामा छ ।