धरान—इटहरी सडक कालोपत्रे सुरु




धरान, कोशी राजमार्गको रानी—विराटनगर—इटहरी—धरान सडक आयोजना अन्तर्गत इटहरी—धरान सडकमा पर्ने सेउती—पानीपिया खण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ ।
लामो समयदेखि सडक निर्माण कार्य सुस्त बन्दा चौतर्फी आलोचना भईरहेका बेला ठेकेदार कम्पनी हिमदुङ थोकर एन्ड प्यासिफिक जेभीले सडकको एकातर्फ कालोपत्रे गर्न थालेको हो ।
सडक निर्माणमा ढिलासुस्ती भएपछि चासो देखाउँदै आएका कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले ४ लेन सडक मध्ये २ लेन धमाधम कालोपत्रे भईरहेको र एक साताभित्र सकिने ठेकेदारबाट जानकारी पाएको बताए । उनले भने ‘नियमित निगरानीपछि कालोपत्रे सुरु भएको छ । बाँकी भागमा पनि चाँडै हुने भनिएको छ । अब बाटो सहज हुनेमा आशावादी छौं ।’
धरान—इटहरी खण्डको अन्य सडक बनिसकेपनि सेउतीपुल देखि तरहरा स्थित पानीपियासम्मको ५.३ किलोमिटर सडक निर्माणमा ढिलाई हुँदा यात्रुले कष्टकर यात्रा गर्न बाध्य हुनु परेको छ । यो सडक अस्तव्यस्त हुँदा शारिरीक कष्टसँगै धुलो धुँवाको प्रदुषण भोग्नु परेको भन्दै हालै अधिवक्ता रविन्द्रकुमार भगतले उच्च अदालत विराटनगरमा रिट निवेदन समेत दर्ता गराएका थिए । उक्त रिटको सुनुवाई गर्दै चैत ५ गते उच्च अदालत विराटनगरका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले १५ दिनभित्र कारण सहित छलफलका लागि उपस्थित हुन आदेश जारी गरेको छ ।
उक्त सडक खण्ड भत्काएर समयमा निर्माण नगर्दा दुर्घटना बढिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको तथ्याङ्क अनुसार यो सडकमा दुर्घटनामा परेर तीन वर्षयता १० जनाको ज्यान गईसकेको छ । आर्थिक वर्ष २०७८÷०७९मा यो सडक खण्डमा जम्मा ५३ दुर्घटनामा परी ६ जनाको ज्यान गएको थियो भने ८८ जना घाईते भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७९÷०८०मा २३ वटा दुर्घटनामा ३ जनाको ज्यान गएको थियो भने ४३ जना घाईते भएका थिए । चालु आर्थिक वर्ष २०८०÷०८१को हालसम्म ६ वटा दुर्घटनामा एक जनाको मृत्यु र १० जना घाईते भएका छन् ।
२०७७ सालको असार मसान्तदेखि २०८० सालको असार मसान्तमा काम सक्ने गरी यो सडकखण्ड निर्माणको ठेक्का पाएको हिमदुङ थोकर एन्ड प्यासिफिक जेभीले तोकिएको समयमा काम सकेको छैन । हाल सम्झौता सकिएपछि समय थप्ने प्रक्रिया चलिरहेको रानी—विराटनगर—इटहरी—धरान सडक आयोजना इटहरी इञ्जिनियर अस्मिता सुवेदीको भनाई छ । उनले अब कालोपत्रे सुरु भएकाले बाँकी काम पनि चाँडै सकिने बताए ।