इलामका किसान सुपारी खेतीप्रति आकर्षित हुदै




फिक्कल , इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छ” उनले रासससँग भने “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो रु ५० का दरले बिक्ने गरेको छ ।”


घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्ने बताउँदै उनले नयाँ बोट थप गरी खेती विस्तार गर्ने योजनामा आफू रहेको सुनाए । “यस वर्ष सुपारी बेचेरे रु तीन लाख आम्दानी भयो, सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपु¥याउने र छहारीको काम गर्ने भएकाले दोहोरो फाइदा लिन सकिने वताए । “बहुवर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन हुन्छ, यसलाई अझ विस्तार गर्ने योजनामा छु ।”
अर्का किसान कृष्ण लिम्बूले पनि अन्न फल्ने जग्गामा पाँच सय बोट सुपारी रोपेका छन् । करिब १० रोपनी जग्गामा उनले पाँच सय बोट सुपारी रोपेका हुन । थोरै लगानी र कम मेहनतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले सुपारी खेती सुरु गरेको उनले बताए ।

“अन्य खेतीजस्तो धेरै मेहनत र लगानी नपर्ने भएकाले सुपारी सुरु गरेका हुन “बिक्रीको चिन्ता छैन, व्यापारी घरमा नै आउँछन्, प्रतिकिलो रु ३० देखि रु ५० सम्ममा बगानबाटै बिक्री हुने गर्दछ ।” उनले यस वर्ष सुपारी खेतीबाट रु एक लाख आम्दानी गरेको वताए ।