गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न महानिरिक्षक अर्यालको निर्देशन




धरान (सुनसरी),सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल खटेका ठाउँमा कुनै किसिमका गैरकानूनी क्रियाकलाप हुन नदिन र आफु पनि कुनै व्यक्तिगत लेनदेनमा सहभागी नहुन मातहतमा सशस्त्र प्रहरीहरुलाई निर्देशन दिएका छन् ।
सुनसरीको पकली स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयको २३ औं वार्षिकोत्सवका अवसरमा आज आयोजीत कार्यक्रममा बोल्दै महानिरिक्षक अर्यालले गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न र इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका हुन् ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षा र राजस्व छलि नियन्त्रणको काम गर्दै आएको भन्दै उनले सीमा क्षेत्रमा भएका सम्पूर्ण नराम्रो कामको जिम्मा त्यहाँ खट्नेहरुले लिनु पर्ने बताए । उनले भने ‘सीमा क्षेत्रमा खट्नेहरुका लागि समस्याहरु पनि धेरै छन् तर जिम्मा लिएको काममा कसैले लापरबाही गर्नु हुँदैन । जानीजानी गरेका गल्ति अपराध सरह हुन्छन् । कर्तव्य पालनाका सिलसिलामा भएका गल्ति भने सुधार्न सकिन्छ ।’
बराह बाहिनीले राजस्व चुहावट नियन्त्रणमा उत्कृष्ट कार्य गरेको भन्दै महानिरिक्षक अर्यालले प्रशंसा गरे । उनले भन्सार र राजस्व कार्यालयसँग अझै राम्रो समन्वय गरेर अघि बढ्नु पर्ने बताउँदै भने ‘हाम्रो उद्देश्य एउटै हो, क्राईसिसबाट बाहिर जाने । त्यसैले एकअर्कालाई दोषारोपण गरेर होईन, समन्वय गरेर अघि बढ्नु आवश्यक छ ।’
कार्यक्रममा सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक अञ्जनीकुमार पोखरेलले सशस्त्र प्रहरीलाई चुस्त, दुरुस्त र अनुसासित बनाउन शुन्य सहनशीलता अपनाइएको बताए । उनले आगामी दिनमा पनि सबै क्षेत्रसँग समन्वय गरेर गैरकानूनी गतिविधि नियन्त्रण गर्न अझ सक्रियतापूर्वक लागि पर्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।