सुकुटीको फस्टाउँदो व्यापार




स्वर्णिम रार्ई
धरान, २२ चैत ः धरानको मुख्य बजार भानुचोकबाट पूर्व तर्फको निकेतन गल्लिमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ । मासुका पारखीहरु टाढादेखि यहाँ सुकुटी किन्न आईपुग्छन् । त्यसैले सुकुटीको व्यापार पनि फस्टाउँदो छ ।
निकेतन गल्लिमा मात्र सुकुटी बेच्ने पसलहरु एक दर्जन हाराहारीमा छन् । घरमै बनाएर बेच्न सकिने सुकुटीबाट महिलाहरुले घर व्यवहार धानेका छन् । फुसर्दमा गफ गरेर बस्नु भन्दा सुकुटीको व्यापार गर्दा राम्रो आम्दानी गर्न सकिने व्यापारीहरुको अनुभव छ । यसैको एक उदाहरण हुन, धरान उपमहानगरपालिका वडा नं. १५ की दिल कुमारी तामाङ ।


हरेक विहानको सात बजे उहाँ घरबाट निकेतन गल्लि आईसक्छन । सोहि गल्लिमा सुकुटी बेच्दा बेच्दै दिन बित्छ । बिहानदेखि बेलुका ८बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने उनी बताउछन । उनी बजारबाट दैनिक १५ देखि २० किलो राँगाको मासु किनेर ल्याउछन अनि आफैं सुकुटी बनाउछन । त्यसलाई मज्जाले सुकाएपछि बेच्न तयार हुन्छ । आफुले बनाएको सुकुटी धरानका विभिन्न होटल, रेष्टुरेन्ट देखि भारत, हङकङ देखि बेलायतसम्म पुग्ने गरेको उनी बताउछन् । निकेतन गल्लिमा सुकुटी बेच्दै भेटिएकी उनले भने ‘अलिक मेहनत गर्ने हो भने सुकुटीबाट राम्रै फाईदा छ । धरानको सुकुटी भनेपछि विदेश पठाउनेहरु पनि धेरै आउँछन् ।’
तामाङले यसरी सुकुटीको व्यापार गर्न थालेको सात वर्ष बितिसक्यो । यहि व्यापारबाट घर परिवार चलाएको उनी बताउछन । सुकुटीको व्यापार हेर्दा सजिलो देखिएपनि सुकुटी बनाउन धेरै समय र मेहेनत लाग्ने उनको अनुभव छ । मासु सुकाएर सुकुटी बनाउन उहाँ दाउराको आगो प्रयोग गर्नु हुन्छ । पछिल्लो समय दाउरादेखि मासुको मूल्य पनि बढेकाले समस्या हुँदै गएको उनको भनाई छ । उनी भन्छन् ‘तर मेहनत अनुसार कमाई पनि राम्रै हुन्छ । दुःख गरेको खेर जाँदैन ।’
ग्राहकहरुले बजारबाट सुकुटी किनेर घरमा लगेपछि आफ्नो रुची अनुसार अचार वा तरकारीका रुपमा बनाएर खान सकिने भएकाले मासु पारखीको रोजाईमा पर्ने गरेको छ । कतिपय व्यापारीले भने सुकुटीको अचार नै बनाए पनि बिक्री गर्ने गरेका छन् । धरान–१५ कै बिनिता गिरी सुकुटीसँगै सुकुटीको अचार पनि बिक्री गर्छन । उनका अनुसार बजारमा अहिले सुकुटीको दाम प्रति केजी १ हजार ६ सय देखि ३ हजार रुपैयाँसम्म पर्छ । सुकुटीको गुणस्तर अनुसार मूल्य पनि फरक हुने गरेको उनको भनाई छ ।
त्यस्तै सुकुटीको अचार प्रति केजी १२ सय देखि १६ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको उनको भनाई छ । सुकुटी र सुकुटीको अचार बिक्री गरेर दैनिक २५ देखि ३५ हजारको कारोबार गर्दै आएको उनी बताछिन् । सात वर्षदेखि सुकुटीको व्यापार गरिरहनु भएकी गिरी भन्छन् ‘मैले बनाएको सुकुटी धरान, झापा, काठमाडौंदेखि हङकङ, युकेसम्म पुग्छ ।’
धरानमा तामाङ र गिरी जस्तै सुकुटीको व्यापार गर्ने महिलाहरुको संख्या बढिरहेको छ । सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन् । उनीहरुले राँगाको मासु किनेर घरमै सुकुटी बनाएर बेच्ने गरेका छन् । सुकटीको व्यापारका लागि कतिले भानुचोक, निकेतन गल्लिमा पसल सञ्चालन गरेका छन् भने कतिपयले घरबाट पनि बिक्री गर्ने गरेका छन् ।
धरानका सुकुटीको व्यापार गर्ने महिला कति छन् र उनीहरुको कारोबारको स्तर कत्रो छ भन्ने यकिन बिवरण पाउन मुस्किल छ । किनभने, धेरैले व्यक्तिगत रुपमा घरबाटै व्यापार गरिरहेका छन् तर बजारमा बिक्री गर्न बसेकाहरुसँगको कुराकानीमा दैनिक धरानमा सुकुटीको लाखौंको व्यापार हुने गरेको बुझ्न सकिन्छ । सुकुटीको व्यापार गर्ने दिलकुमारी तामाङ भन्छन् ‘एउटै पसलबाट २५÷३० हजारको व्यापार हुन्छ । सबैको हिसाब गर्दा त लाखौं पुग्छ नि ।’
यद्यपी विगतका वर्षहरुको तुलनामा कोरोना महामारीपछि सुकुटीको व्यापार अलि कम भएको व्यापारीहरुको भनाई छ । व्यापारी गिरी भन्छन ‘बजारमा सुकुटीको माग अलि खस्किए पनि अरु व्यवसाय जस्तो धेरै घटेको छैन । व्यापार गर्नेहरु बढिरहेकाले सुकुटीको व्यापार फस्टाएकै छ ।’