धरान धरान उपमहानगरपालिका वडा नं. ५ निशान डाँडामा रहेको निशानदेवीको मन्दिर संरक्षणको अभावमा जीर्ण र अलपत्र अवस्थामा पुगेको छ ।
निशानदेवी मन्दिरमा दर्शन गर्न धरान बजार र आसपासका स्थानीयहरु पुग्ने गरेका छन् । विगतमा सुनसरीकै पाँचकन्या गाविस क्षेत्रमा पर्ने यो मन्दिर पाँचकन्या धरानमा गाभिएपछि हाल धरान उपमहानगरभित्र पर्छ । निक्कै पुरानो मन्दिर भएपनि यसको संरक्षणमा कसैले चासो नदेखाउँदा अलपत्र परेको स्थानीयवासीको भनाई छ ।

अहिले मन्दिर पुग्दा चारैतिर भत्किएको अवस्थामा देखिन्छ । मन्दिरका पुजारी विदुर भण्डारीका अनुसार यो मन्दिर कहिले स्थापना भयो भन्ने बारे स्पष्ट रुपमा उल्लेख भएको कतै पाइएको छैन । तर पौराणिक कालमै मन्दिर स्थापना भएको किंवदन्ती रहेको पुजारी भण्डारीले बताए । उनले भने उहिले विजयपुर राज्य रहेका बेलामा विजयपुरको निशानका रुपमा यो मन्दिर स्थापना भएको भनाई छ । मैले ३० वर्षअघि जस्तो देखेको त्यस्तै छ यो मन्दिर । केही विकास हुन सकेको छैन बरु उल्टै धराप बनेर भत्किने अवस्थामा पुगेको छ ।’
मन्दिर व्यवस्थापन समितिले निशानदेवी मन्दिर संरक्षणका लागि सहयोग गर्ने समाजसेवीहरुको खोजि गरिरहेको पुजारी भण्डारीले बताए । धरानका व्यवसायी अशोक अग्रवालले निशानदेवी मन्दिरको संरक्षणका लागि घेराबारा गर्न सहयोग गर्ने बताएका छन । उनले निशानदेवी ऐतिहासिक मन्दिर भएपनि संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको पाइएपछि मन्दिर वरपर घेराबारा गरिदिन लागेको बताए ।
धरानलाई कोशी प्रदेशमा मन्दिरहरुको सहरका रुपमा पनि चिनिन्छ । धरान उपमहानगपालिका क्षेत्रभित्र बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, विष्णुपादुका, पञ्चकन्या मन्दिर, विश्वकर्मा मन्दिर, शनि मन्दिर जस्ता मन्दिरहरु चर्चित छन् । त्यसबाहेक शिव मन्दिर, राम मन्दिर, कृष्ण मन्दिर, इस्कोन मन्दिर, वैष्णव मन्दिर, बालाजी मन्दिर, बालगोपाल मन्दिर जस्ता धेरै मन्दिरहरु रहेका छन् । धरान बजारभन्दा अलि टाढा रहेका निशानदेवी मन्दिर जस्ता मन्दिरहरु भने ऐतिहासिक र पुरातात्विक महत्व रहेपनि ओझेलमा परिरहेका छन् ।
हाल मन्दिरका भित्ताहरु भत्किएका छन् भने छानो चुहिने अवस्थामा छ । वरपर झाडी पलाएर मन्दिर नै लोप हुने अवस्थामा पुगिसकेको छ । यो मन्दिर ऐतिहासिक तथा धार्मिक सम्पदा भएकाले लोप हुन नहुने स्थानीयको भनाई छ । त्यसका लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने उनीहरुको माग रहेको छ ।
निशानदेवी मन्दिर जीर्ण अवस्थामा पुगेपनि संरक्षणका लागि सरकारी निकायको ध्यान पुग्न नसकेको अवस्थामा स्थानीयवासीले जेनतेन मन्दिर बचाएर राखेको निशानदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम बुढाथोकी बताउछन । उनले मन्दिरको संरक्षण गरिदिन सबैसँग आग्रह गर्नु भएको छ । यो मन्दिरको जीर्णोद्वार गरेर संरक्षण गर्ने हो भने आन्तरिक पर्यटकका लागि दर्शनीय स्थलको विकास हुन्छ । त्यसले समग्र नगरलाई नै फाईदा हुने हो ।’