इलाम–२ उपनिर्वाचन ः मतदानमा महिलाको सहभागिता उत्साहजनक




धरान ः इलामको माङसेबुङ गाउँपालिका–२ हुलाककी ७९ वर्षीया ज्येष्ठ नागरिक महिला गङ्गादेवी राई बिहानै लठ्ठी टेक्दै नजिकै रहेको जनताकल्याण आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा पुगे । ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने भएकाले स्वयम्सेवकले प्रवेशद्वारबाटभित्र मतदानस्थलमा प्रवेश गराए । उनले आफूले मन परेको उम्मेद्वारको चिन्हमा मतदान गरेर बाहिर निस्के ।
यतिका उमेरसम्म दर्जनौँ पटक मतदान गरियो, आफूले मतदान गरेकाले जितेर पनि गए, तर गाउँको विकास नभएको उनले बताए “यस पटक पनि मैले मत दिएको उम्मेद्वारले जितोस्, तर यस पटक जितेर गएकाले गाउँमा विकासको चाँही गर्नुपर्छ ।” गाउँमा बिजुली, खानेपानी र बाटोघाटोको समस्या समाधान गर्नुपर्ने उम्मेद्वारसँग उनको अपेक्षा छ ।
माङसेबुङ गाउँपालिका–२ डाँडागाउँकी अर्की एकल महिला आशमति लिम्बूले पनि उत्साहका साथ मतदान गरे । पञ्चायतकालदेखि मतदान गर्दै आएको उनले राम्रो मान्छे जिताउन मतदान गर्न आएको बताए । लठ्ठीको सहारामा आधा घण्टा पैदल हिँडेर मतदान केन्द्रसम्म आइपुगेकी उनले बेलाबेलामा मतदान गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्ने गरेको बताए । “आफूलाई मन परेको उम्मेद्वारले जितोस् भन्न सधैँ मतदानमा सहभागी हुने गरेको बताए ।
माङसेबुङ गाउँपालिका–३ सुवाचेनकी ८१ वर्षीय वृद्ध नारायणश्वरी राईको भनाइ पनि उस्तै थियो । “उम्मेद्वारमध्ये राम्रो र योग्य मान्छेलाई जिताउन मतदान गर्न आएकी छु,” बताउदै “राम्रो र योग्य उम्मेद्वार जिताउन मेरो एक मत अमूल्य रहन्छ ।”

उल्लेखित पात्रहरु प्रतिनिधि उदाहरण मात्र हुन् । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज जारी मतदानमा महिला मतदाताको उपस्थिति उत्साहजनक रहेको छ । बिरामी, अशक्त, वृद्धवृद्धाले अप्ठ्यारोसमेत बिर्सेर उपनिर्वाचनमा मतदान गर्न मतदान केन्द्रमा पुगेका छन् । महिला मतदाताको सक्रिय उपस्थिति देखिएको थियो ।
त्यस्तै माङसेबुङ गाउँपालिका–२ स्थित इभाङ माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि स्थानीय ८४ वर्षीया वृद्धा मैतमाया लिम्बूलाई निर्वाचनको रोनक निकै मन प–यो । “सबै एकैठाउँ भेला भएको देख्न पाएँ, यसरी बेलाबेला निर्वाचन आउँदा त खुब रमाइलो लाग्ने गरेको बताउछन् ।
यस निर्वाचन क्षेत्रमा कूल मतदाता एक लाख १५ हजार आठ सय ८९ रहेकोमा ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई तेस्रो लिङ्गी मतदाता छन् । यहाँ तोकिएका ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ । यसैबीच ५२ प्रतिशत मत खसेको छ । दिउँसो ३ः३० बजेसम्मको तथ्याङ्क अनुसार ६० हजार मत खसेको छ ।
खसेको मत सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो । सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराइएको हो ।

प्रत्यक्ष निर्वाचित सांसद पद रिक्त भएमा उपनिर्वाचनबाट पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ । इलाम–२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।