इटहरीमा स्टर्न ट्राभल मार्ट शुरु




धरान सुनसरी २५ जेठ ः इटहरीमा तीन दिने स्टर्न ट्राभल मार्ट सुरु भएको छ ।
कोशी प्रदेश पर्यटकीय क्षेत्र तथा पर्यटन व्यवसायको विकास र पर्यटकीय स्थलहरुको प्रवर्धन गर्ने उदेश्यले शुक्रवारदेखि इटहरीको सोल्टी वेस्टेण्डमा तीन दिने स्टर्न ट्राभल मार्ट शुरु भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रमको उद्धघाटन गर्दै कोशी प्रदेशमा पर्यटनको सम्भावना राम्रो रहेको बताउदै यस क्षेत्रको पर्यटन प्रवर्धन विकासका लागि सरकार सधै तयार रहने बताए ।
उनले भने, पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताउँदै, प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ , ।
तीन दिने मार्टमा सहभागी भएका पर्यटन व्यवसायी कोशी प्रदेश बाहेकका पोखरा,चितवन र काठमाण्डौंलगायत अन्य प्रदेशका व्यवसायीबिच हुने व्यापारीक सम्झौताले कोशी प्रदेशको पर्यटन प्रवद्र्र्धन हुनुका साथै यहाँको पर्यटन क्षेत्रको विश्वबजारीकरण हुने पनि उनले विश्वास व्यक्त गरे ।
कोशी प्रदेशको पर्यटन उत्पादनहरुलाई प्रदेशका सीमावर्ती भारतीय शहर र नेपालका सबै ठाउँहरुमा प्रचार प्रसार र प्रवर्धन गर्नु पर्ने आवश्यक रहेको पनि मुख्यमन्त्री कार्कीले बताए ।
पर्यटन बोर्डको आयोजनामा सुरु भएको ट्राभल मार्टमा नेपालका ५० जना र भारतको विहार, पश्चिम बङ्गाल, सिक्किम प्रान्त, भुटान र बङ्गलादेशलगायत अन्तर्रााष्ट्रियस्तरबाट ८० भन्दा बढी ट्राभल व्यवसायीहरु र पर्यटनसंग सम्बद्ध संगठनका प्रतिनिधि गरी जम्मा १ सय ४० को हाराहारीमा पर्यटनकर्मीहरुको सहभागीता रहेको मार्टका संयोजक भविषकुमार श्रेष्ठले जानकारी दिए ।
“पर्यटन बोर्डको रु ३० लाख सहयोग र इटहरी उपमहानगरको रु छ लाख लागतमा कार्यक्रम सुरु भएको हो ।”
इटहरी धरानरोड आँपगाछीस्थित सोल्टी वेस्टेण्डको प्राङ्गणमा सुरु भएको मार्टमा ३० वटा भन्दा बढी स्टलहरु रहेका छन् । अबको तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको समापन झापाको काँकरभिट्टामा रहेको होटल मेची क्राउनमा यही जेठ २७ गते हुने आयोजकले जनाएको छ ।