जेष्ठ २९, बिर्तामोड । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले बुधबार झापा जिल्ला स्तरीय भेला तथा रुपान्तरण कार्यक्रम गर्ने भएको छ ।

झापाको विर्तामोड स्थित आदर्श व्याङ्क्वेटमा आयोजना हुन लागेको कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव एवं नेपाल सरकारका संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवको उपस्थिति रहने जिल्ला सचीव रोम घिमिरेले बताए ।
‘संघीय, सुशासन, सम्बृद्धि र समाजवाद’ भन्ने नाराका साथ आयोजना हुन लागेको भेला तथा रुपान्तरण कार्यक्रमको पार्टी संगठन विस्तार गर्ने प्रमुख उद्देश्य रहेको पनि सचीव घिमिरे ले जानकारी दिए।
गत वैसाख २३ गते उपेन्द्र यादवको नेतृत्वमा रहेको तात्कालीन जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर अशोक राईको नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निर्माण भएको थियो ।
विभाजन भएदेखि नै तल्लो स्तरबाट पार्टी संगठन मजबुत बनाउने अभिप्रायले भेला तथा रुपान्तरण कार्यक्रमलाई पार्टीले निरन्तता दिन थालेको हो ।

