बिर्तामोड । बिर्तामोड नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजना गरेको विभिन्न सिपमुलक तालिम सम्पन्न गरेको छ ।

सोमबार मेघा कम्लेक्स स्थित ग्लोबल लुक्सको हलमा आयोजित कार्यक्रममा व्युटी पार्लर, ढाका बुनाई तथा सिलाई कटाई तालिमको समापन गरिएको हो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो । तालिममा वडा नम्बर ५ का विभिन्न क्षेत्रमा २ महिनासम्म सञ्चालन भएको थियो । तालिममा व्युटि पार्लर तर्फ १५ जना, ढाका बुनाई र सिलाई कटाईमा ६/६ जनाको सहभागिता रहेको थियो । व्युटिपार्लरमा रश्मी रसाईली र संगिता रसाईली, ढाकामा मंगलमाया केरुङ, सिलाई कटाईमा सर्मिला अधिकारीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले सिपलाई उत्पादनसंग जोडेर रोजगारी श्रृजना गर्न सवैलाई आग्रह गर्नुभएको थियो। सिपलाई व्यवसायिक बनाएर उद्योग स्थापना गरि अन्यलाई पनि रोजगारी दिनु पर्नेमा उहाँको जोड रहेको थियो । त्यस्तै नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सिप सिकेपछि यसलाई सदुपयोग गर्नु पर्ने बताउनु भएको थियो । स्वरोजगार बनाउने तालिम प्रभावकारी रहेको उहाँले चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले सिकेको सिपलाई स्वदेशमै सदुपयोग गर्न आग्रह गर्नुभएको थियि। लगानी र मेहेनत गरे यहिँ प्रतिफल प्राप्त हुने उहाँको धारणा थियो । तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य निर्मला गजमेरको पनि उपस्थिति थियो ।
नगर प्रमुख प्रसाईले तीन वटै विधाका प्रशिक्षकहरुलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो। त्यस्तै नगरपालिकाले ढाका बुनाईमा सहभागी प्रशिक्षार्थीहरुको लागि लागत साझेदारीमा प्रविधिसमेत प्रदान गरिने लघु उद्यम विकास कार्यक्रमकी सहजकर्ता चनिमाया तामाङले जानकारी दिनुभयो ।

