धरान : श्री पब्लिक हाइ स्कुल, धरान १२ मा एसईई परीक्षा पास गर्ने विद्यार्थीहरुले कक्षा ११ का लागि प्रवेश परीक्षा दिएका छन् । शनिवार सम्पन्न प्रवेश परीक्षामा जम्मा ५१७ जनाले भाग लिएका थिए । लिखित तथा अन्तरवार्ता समेत गरी लिएको परीक्षाको रिजल्ट आज बेलुकानै निकाल्ने र आइतबार विहान ७ बजे देखि भर्ना शुरु गर्ने प्रधानाध्यापक डा. इन्द्र मोहन झाले बताए । ३.६ जिपिए भन्दा माथि ल्याउने विद्यार्थीलाई कुनै पनि विषय पढ्न १०० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको झाले घोषणा गरे ।
विद्यालयमा कक्षा ११ मा साईन्स, कम्प्यूटर साइन्स, मेनेजमेन्ट, कम्प्यूटर मेनेजमेन्ट, होटल मेनेजमेन्ट, एजुकेशन, व्यूटिसियन एण्ड हेयर ड्रेसिङ्ग र मानविकी विषयका कक्षाहरु संचालन भैरहेको छ । पूर्व प्राथमिक देखि कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा जम्मा ३६४९ जना विद्यार्थीहरू अध्ययनरत छन् ।
नेपाल सरकारको नमूना विद्यालयको रुपमा छनौट गरेको विद्यालयको रुपमा रहेको यस विद्यालय यो वर्ष साइन्स प्रवर्धन गर्ने विद्यालयको रुपमा पनि छनौटमा परेको छ । साथै विद्यालय विक स्कुलको रुपमा पनि छनौटमा परेको छ । पब्लिक हाइ स्कुलको व्यवस्थापन र पढाईको गुणस्तरका कारण विद्यार्थी तथा अभिभाकहरूका लागि रोजाईको विद्यालय बनेको साइन्स तथा इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठले बताए ।
श्री पब्लिक हाइ स्कुल एसईईको रिजल्टको आधारमा सामुदायिक विद्यालय तर्फ सुनसरीमा टप भएको छ । छात्रा तर्फ यस विद्यालयकी छात्रा आकृति वराईली सुनसरी टप भएकी छिन् । आकृतिले ३ दशमलव ८६ प्रतिशत अंक प्राप्त गरेकी छिन् ।
विद्यालयका १९३ जना विद्यार्थीहरूले एसईई परीक्षा दिएकोमा १५७ जना उत्तिण भएका छन् । जसमध्ये ३.६ देखि ४ जिपिए ल्याउने १८ जना, ३.२ देखि ३.६ ल्याउने ६७ जना, २.८ देखि ३.२ ल्याउने ५० जना, २.४ देखि २.८ जिपिए ल्याउने २२ जना रहेका छन् । विषय लाग्नेहरूमा १ विषय लाग्ने २५ जना, २ विषय लाग्ने ९ जना, ३ विषय लाग्ने १ जना र ५ विषय लाग्ने १ जना रहेका छन् । सवै विषय लाग्ने विद्यार्थीहरुले पनि ग्रेट वृद्धि परीक्षा दिन पाउने व्यवस्था सरकारले गरेको छ । पुरक परीक्षा दिने विद्यार्थीहरुका लागि परीक्षा तयारी कक्षा पनि विद्यालयले शुरु गरेको समेत सहायक प्रधानाध्यापक लेखनाथ भट्टराईले जानकारी दिए ।
विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलापहरु साथ–साथै स्काउट र एनसीसी लगायतका कार्यक्रमहरू पनि संचालन भइरहेको विद्यालयका एकाडेमिक इन्चार्ज विरेन्द्र बहादुर शाहले जानकारी दिए । सामुदायिक विद्यालयलाई पनि सवैको सहयोगबाट उत्कृष्ट विद्यालय बनाउन सकिन्छ भन्ने उदाहरणको रुपमा देखाउन आफुहरु लागिरहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र कुमार राईले प्रतिकृया दिएका थिए ।