धरान ः धरानमा सुक्खा मौसम सुरु भएसँगै खानेपानीको अभाव बर्षेनी हुने गरेको छ । धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटक गरेका प्रयासहरु भने सफल हुन नसकेका कारण खानेपानीको अभाव बढ्दै जाने गरेको छ ।
अहिले धरानको खानेपानी समस्या समाधानका लागि सुरु गरिएको डिप बोरिङको काम अन्तिम चरणमा पुगेको कोशी प्रदेशका सांसद रमेशकुमार बस्नेत जानकारी दिए ।
उनले भने, प्रदेश सरकारको खानेपानी सिचाई तथा उर्जा मन्त्रालयबाट रु.४ करोड बजेट विनियोजित गरिएको थियो ।
खानेपानी समस्या समाधानका लागि अहिले धरानमा तीन वटा बोरिङको काम भईरहेको छ । जस अन्तर्गत अन्तिम चरणको बोरिङको काम अहिले धरान उपमहानगरपालिका १७ को उदय सामुदायिक वन क्षेत्रको कुम्भीअहालमा काम भइरहेको उनले जानकारी दिए । गत आर्थिक बर्षमा सुनसरी १ (१) बाट निवार्चित प्रदेश सांसद रमेशकुमार बस्नेत,र सुनसरी १ (२) बाट निवार्चित सांसद विजयकुमार राईको पहलमा प्रदेश सरकारले रु.४ करोड बजेट विनियोजन गरेको थियो ।
उक्त बजेटबाट कोशी राजमार्ग सेउतीपुल चारकोशे जंगल क्षेत्रमा पहिलो र दोस्रो डिप बोरिङ सफल भइसकेको छ भने धरान उपमहानगरपालिका १७ मा नयाँ डिप बोरिङको काम पनि धमाधम भइरहेको उनले बताए ।
बजेट फ्रिज नहुन नदिन सांसदद्धयले निरन्तर निरन्तर काममा लागि रहेको कोशी प्रदेश सभासदस्य विजयकुमार राईले बताए ।
सांसद रमेश बस्नेतका अनुसार गत आर्थिक बर्ष २०८०÷०८१ मा प्रदेशबाट विनियोजन गरिएको बजेटमध्ये तीन ठाउँमा डिप बोरिङ गर्न १ करोड ५२ लाखमा श्रीमन ड्रिलिङ कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । ‘दुई ठाउँमा सफल भइसकेको छ भने यो तेस्रो ठाउँमा काम पनि चाडै सम्पन्न हुनेछ’ उनले भने ।
३ वटा डिप बोरिङसँगै साविकको योजनामा जडान गर्न पनि पाइप खरिदको टेण्डर भइसकेको छ । विद्युतीय उपकरण जडान गर्न बजेट अपुग भएकोले चालु आर्थिक बर्ष २०८१÷०८२ मा उक्त कार्यको लागि प्रदेश सरकारबाट थप ३ करोड ३० लाख बजेट विनियोजना गरिएको सांसद बस्नेतले जानकारी दिएका छन् ।
उनले भने ,‘धरानलाई खानेपानीमा राहत होस् भनेर प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।’ ‘यो हिउदमा धराने खानेपानी समस्याबाट राहत पाउनुपर्छ भनेर प्रदेश मन्त्रालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा पहल गरिरहेका छौं । ’
मन्त्रालयबाट बजेट विनियोजना गरिएपनि कार्यान्वयनमा समस्या भएर बजेट फ्रिज हुने भएकोले आफुहरु निरन्तर खटिनुपरेको प्रदेश सांसद विजयकुमार राईले बताए । प्रदेशको बजेटले डिप बोरिङ गर्दा खानेपानीको स्रोत थपिने भएपनि पूर्णरुपमा धरानको समस्या हल नभएपनि तत्कालको लागि राहत मिल्ने उनले बताए ।
‘बजेट फ्रिज होला कि भनेर हामी आफै खटिएका छौं । डिपबोरिङको लागि छुट्टिएको बजेट रातो किताबमा सम्पवेल भनेर आएछ । त्यसलाई फेरि डिपबोरिङ बनाउनै निक्कै प्रयत्न गर्नुपर्यो,’ राईले भने, ‘अहिलेको राम्रो बजेट परेको छ ।’
विज्ञको भनाई अनुसार प्रतिदिन एउटा पम्पबाट २० लाख लिटर पानी उत्पादन गर्न सकिने जसमा तीन वटा डिपबोरिङबाट प्रतिदिन ६० लाख लिटर पानी थपिन्छ भन्ने अपेक्षा गरिएको छ उनको भनाई छ ।’
हाल धरान खानेपानी व्यवस्थापन बोर्डले सुख्खा मौसमका बेलामा डिप बोरिङमार्फत नै पानी खुवाउँदै आइरहेको छ । विसं २०७८ को जनगणनाअनुसार धरानको जनसङ्ख्या एक लाख ६६ हजार पाँच सय ३१ छ ।
धरानमा दैनिक दुई करोडदेखि तीन करोड लिटर पानीको माग छ । मागमध्ये आधा मात्रै पनि उपलब्ध हुन सकेको छैन ।
खानेपानी संस्थानले केही वर्ष अगाडि सर्दु, तामाखाम जलाधार स्रोतबाट वर्षायाममा असारदेखि माघसम्म दैनिक दुईदेखि तीन करोड लिटरसम्म पानी उपलब्ध गराउँदै आएको थियो । त्यसयता भने समस्या फेरि सुरु भएको हो ।