जन्मदिनको अवसरमा कुरुम्बाङ् द्वारा घर प्रदान-Drishya Online




अजेन्द्र वाईबा तामाङ
पाँचथर ,साउन २२। पाँचथरको फिदिम नगरपालिका १ निवासी देबिराज कुरूङम्बाङले श्रावण २२ गते आफ्नो जन्मदिनको अवसर पारि फिदिम नगरपालिका ५ निवासी गोपाल कटुवाललाई घर तथा शौचालय निर्माण गरेर निशुल्क प्रदान गरेका छन् ।

मंगलबार फिदिम ५ स्थित कटुवालको निवासमा स्थानीय बुद्धिजिविहरुको उपस्थितिमा एक समारोहका बिच कुरुम्बाङले उक्त घर हस्तान्तरण गरेका हुन् ।

३ वर्ष अघि ट्र्याक्टर दुर्घटनामा परि खुट्टा भाचिएर स्टिल लगाई कष्टर जीवन विताई रहेका कटुवाल आफ्नो भाइ बुहारी संग बस्ने गरेका थिए । आफु सानै छँदा आमा अर्को पुरुष संग बिबाह गरि गएको र त्यस् पश्चात् बुवा पनि बेवारिसे अवस्थामा हिड्ने गरेकाले कटुवाल अविभावक विहिन भएर बस्नु परेको थियो। आर्थिक स्थिति कम्जोर रहेकै कारण कटुवाल र उनका भाईबुहारी लामो समय देखी घाम, पानी समेत नछेक्ने झुप्रोमा दुखदायि अवस्थामा बस्दै आउनु परेको थियो। कटुवालको त्यो कष्टकर जिवन देखेर केही सहज होस् भन्ने उदेश्यले आफ्नो व्यक्तिगत लगानीमा उक्त नयाँ घर र शाैचालय निर्माण गरि प्रदान गरेको समाजसेवि तथा पुर्वान्चल फ्रेस हाउसका संचालक समेत रहेका कुरूङम्बाङले दृश्य अनलाइनलाई बताए । उनले घर तथा शौचालय संगै एक थान खाट, ओड्ने ओछ्याउने र गोपालको लागि लगाउने एक सेट पुरै कपडा लगायत सामाग्री समेत प्रदान गरेका हुन् ।

कुरुम्बाङ्ले जनसेवा समाज पाँचथरको समन्वयमा कटुवालको लागि घर निर्माण गरिदिएका थिए । साथै घर निर्माण गर्न कुरुम्बाङ्ग आफै खटेका थिए भने उनलाई समाजका अध्यक्ष राजेन्द्र अधिकारीले साथ दिएका थिए । उक्त घर निर्माण गर्न कारीब १ लाख भन्दा माथि खर्च भएको कुरुम्बाङ्ले बताए ।

नयाँ घर, शाैचालय र लत्ताकपडा पाए पछि खुसि हुदै कटुवालले समाज सेवि तथा व्यावसायि देबि राज कुरूङम्बाङलाई धन्यवाद ब्यक्त गरेका थिए।

घर हस्तान्तरण कार्यक्रमलाई सहजिकरण गर्दै संचालन कमल वास्कोटाले गरेका थिए ।