धरान ः धरानमा नेपाली कांग्रेसले ‘ग्रिन एण्ड क्लिन’ धरान अभियान लिएर गरेको घरदैलो कार्यक्रममा ७ हजार भन्दा बढि विरुवा वितरण गरेको छ ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ सुनसरीले साउन १० गतेबाट ४२ औं वीपी. स्मृति दिवसको अवसर पारेर धरान उपमहानगरपालिका १९ बाट शुरु गरेको ‘ग्रिन एण्ड क्लिन’ अभियान कार्यक्रम धरान उपमहानगरपालिका १ नं. वडामा पुगेर समापन गरेको छ ।
अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, तेजपत्ता ,वेल एभोगार्डो, धुपी, पारिजात, कफीलगायत विभिन्न ७ हजार भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको संयोजक एवम नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।
उनले भने , अभियानका क्रममा कांग्रेसले सडक सरसफाइ र डेङ्गुका लार्भा नष्ट तथा डेङ्गुसम्बन्धी सचेतना पर्चा वितरण साथै डेङ्गु बिरामीलाई औषधि वितरण गरिएको छ ।
अभियानले जनतासंग साक्षात्कार गराउनुका साथ पार्टी र जनता वीचको सम्बन्ध सुदृढ बनाएको भन्दै घरघरमा हरियाली प्रर्वद्धन, सरसफाई र डेङ्गु रोगबारे सचेतना अभिवृद्धि भएको तामाङले बताए । उनले भने अभियानले धरानमा सुन्दर, स्वच्छ र हराभरा सहरमा परिणत गर्नेमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
समापन कार्यक्रमको अवसरमा अभियानको उच्च प्रशंसा गर्दै ग्रीन एण्ड क्लीन धरान अभियान उन्नत र परिस्कृत भर्सन भएको भन्दै यस अभियानले सौन्दर्य बढाउन तथा हरियाली कायम गर्न सहयोग पुग्ने नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले बताए ।
घरघरमा आएर जीवनपयोगी र वातावरण मैत्री विरुवा, औषधि, जनचेतनामूलक पर्चा वितरण र सडक सरसफाई समेत गरेको भन्दै वडावासीहरुले यो अभियान रचनात्मक र महत्वपूर्ण भएको बताएका छन् ।
अभियानको क्रममा निरन्तर उत्साहपूर्वक सक्रियताका साथ खट्ने, जिम्मेवारी वहन गर्ने, सहयोगी एवम् सहकार्य गर्ने वडा र व्यक्तिहरु तथा मिडियाकर्मीहरुलाई उहाँहरुको योगदानको उच्च मूल्यांकन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले प्रमाण–पत्र समेत प्रदान गरिएको छ ।
नेपाली कांग्रेस सुनसरीको १ नं. प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १(१) र १(२) समितिको संयोजन र नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको सहकार्य एवम् सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ‘ग्रिन एण्ड क्लिन धरान’ अभियान सम्पन्न गरिएको क्षेत्रीय सहसचिव सुमित राईले बताए ।
अभियान समापनमा प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य श्यामा रेग्मी, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई, ललिता अधिकारीलगायत नेपाली कांग्रेस पार्टी र भातृ एवम् शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ता र वडावासीहरुको सहभागिता रहेको थियो ।–––