कनकाई झापा । झापाको कनकाई नगरपालिका वार्ड नं. ६ मा वार्ड अध्यक्ष पदको उपनिर्वाचानमा स्वतन्त्र उमेदवार लक्ष्मी प्रशाद ओली विजयी भएका छन् ।
आइतबार सम्पन्न उप-निर्वाचनमा चापाकल चुनाव चिन्ह लिएर उठेका ओली ४९३ मत प्राप्त गर्दै विजयी भएका हुन् । ओलिले दोस्रो स्थान प्राप्त गर्ने एमाले उम्मेद्धार तुलाराम बस्नेतलाई १३७ मतका साथ फराकिलो मत अन्तरले पराजित गरेका छन् ।
सुर्य चिन्हका साथ उठेका नेकपा एमालेका उमेदवार तुलाराम बस्नेतले ३५६ मत मात्रै प्राप्त गरेका थिए । त्यस्तै ३१७ मत प्राप्त गरि नेपाली कांग्रेसका राम गोपाल ओली तेस्रो भएका छन् । यसैगरि चौथो स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेद्धार गणेश थापाले २७७ मत प्राप्त गरे । यस निर्वाचनमा माओवादी पार्टी बाहेक अन्य सबै उम्मेद्धारको जमाना जफत भएको छ । यस निर्वाचनमा ५ औं स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमागिपल निरौला भएका छन् । उनले जम्मा २६ मत प्राप्त गरे भने छैठौ स्थानमा मंगोल नेशनल पार्टीका पदमबहादुर तामाङ्गले २० मत प्राप्त गरेका छन् ।
त्यस्तै सातौ स्थानमा जनमत पार्टीका शुकलाल राजंबशी भइन उनले माईक स्पीकर चिन्हबाट ९ मत प्राप्त गरिन् भने आठौ स्थानमा नागरिक उन्मुक्ति पार्टिकी जमुना राजवंशी भएकी छिन् उनले ६ मत प्राप्त गरेकी छिन् । यसै निर्वाचनमा अचम्म त के छ भने आफ्नो समर्थक तथा प्रस्तावक समेतको मत नपाउने पार्टीमा भने संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेको छ । अन्तिममा रहेको यस पार्टीका उम्मेद्धार दलबहादुर श्रेष्ठले दाप सहितको खुकुरीमा जम्मा २ मत प्राप्त गरेका छन् ।
कनकाई ६ को आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २०५८ मतदाता मध्ये १५१३ मत खसेको थियो जसमा ९ मत बदर भएको थियो । जहाँ कुल मतदाता मध्ये ७३.५१ प्रतिशत मत खसेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताए ।
झापा जिल्ला हालका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा साथै राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार लिङदेनको गृह जिल्ला भएकोले समेत यी सबै दलले यस निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएर हेरिएको थियो ।