फिदिममा भव्य रूपमा मनाइयो सोनाम ल्होछार-Drishya Online



अजेन्द्र वाईबा तामाङ
पाँचथर, माघ १७ । बौद्धमार्गी तामाङ समुदायको सांकृतिक तथा धार्मिक पर्व २८६१ औं सोनाम ल्होछार पाँचथरको फिदिममा विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष (डुक ल्हो) गरुड वर्षलाई बिदाइ गर्दै डुल (सा पुख्री) ल्होलाई स्वागत गरिएको छ । 
नेपाल तामाङ घेदुङ फिदिम नगर समन्वय समितिकाे आयोजनामा फिदिम १ को याेन्तेन नोर्बुलिङ गुम्बामा भव्य शुभकामना आदनप्रदान सहित विभिन्न कार्यक्रम गरेर यस बर्षको सोनाम ल्होछार मनाईएको हो।
नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य पदम प्रसाद तामाङकाे प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा तामाङ समुदाय बाट नेपाल सरकारको विभिन्न उच्च ओहोदामा कार्यरत कर्मचारिहरुलाई सम्मान समेत गरिएको थियो । उक्त क्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी निरिक्षक रूपेस तामाङ, जिल्ला वन कार्यालय पाँचथरका अधिकृत जमानसिं माेक्तान त्यस्तै अठाराई गाउँपालिकाकि पाँचौं सहायक लक्ष्मी तामाङ लगायतलाई खदा र टाेपि लगाएर सम्मान गरिएको हो।

कार्यक्रममा, फिदिम नगरपालिका १ का वडा अध्यक्ष गजाधर भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका फिदिम नगर सभापति प्रकाश गुरुङ, किराँत याक्थुम चुम्लुङका अध्यक्ष सुरेन्द्र केरूङ, आदिवासी जनजाति महांसघ पाँचथरका सचिव बिकेन्द्र वाईबा तामाङ, नेपाल मगर संघकाे सल्लाहकार लाेकेन्द्र आले मगर, फिदिम नगरपालिकाकि शिक्षा शाखा अधिकृत निर्मला दाहाल तथा स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

के हो ? सोनाम ल्होछार ? यो कसरी मनाईन्छ ?
सर्वप्रथम तामाङ समुदायको पृष्ठभूमि बाट सुरु गरौं :
तामाङ समुदायबारे लेखिएका विभिन्न पुस्तकहरू अध्ययन गर्दा ‘ता’ भन्नाले घोडा अनि ‘माङ’ भन्नाले लडाकुहरू भन्ने बुझिन्छ। माघ शुक्ल प्रतिपदा नेपालमा रहेका बिभिन्न समुदाय मध्यका एक तामाङ्ग जातीय समुहको महत्वपुर्ण चाड / पर्व सोनाम ल्होछारको दिन हो ।
‘सोनाम’को ठेट अर्थ किसान हो र ‘ल्हो’ को शाब्दिक अर्थ ‘बर्ष’, साल वा उमेर हुन्छ भने ‘छार’ को अर्थ नयाँ हो । तसर्थ ‘सोनाम ल्होछार’ को शाब्दिक अर्थ किसानले मनाउने नयाँ बर्ष वा नयाँ युगको सुरुवात हो । तामाङ्ग समुदायले मनाउने यस सोनाम ल्होछार प्रत्येक बर्ष को माघ शुक्ल प्रतिपदाको दिनमा मनाउने गरिन्छ।
यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होछार मनाउँदछन् ।
तामाङहरूलाई प्रकृति प्रेमी समूदायका रुपमा चिनिन्छ, विशेष गरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुख देखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरूले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समुदायमा ‘ल्हो’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, बिरालो (खरायो), गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट सुरु हुने यी वर्षहरू जङ्गली सुँगुर (बँदेल) वर्षमा पुगेर सकिन्छ । बाह्र वर्गका वर्षहरूलाई बाह्र राशिका रूपमा पनि लिने गरिन्छ ।
ल्होछार जम्मा ३ प्रकारका छन्।
१.गुरुङ जातिले मनाउने ल्होछारलाई तमु ल्होसार
२.तामाङ जातिले मनाउनेलाई सोनाम ल्होछार
३. शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होसार भनिन्छ ।
ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबै जना एकै ठाउँमा भेला भई नाचगान रमाइलो पनि गरिन्छ । यसरी गाइने अनि नाचिने गीतहरूलाई ‘तामाङ सेलो’ भनिन्छ ।
लामाहरूसँग आशिष् लिएर सोनाम ल्होछारको दिन वर्ष भरिका लागि शुभ साईतको अपेक्षा राखिन्छ। यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरू आयोजना गरिँदै अनि शुभकामनाहरू आदान प्रदान गर्दै तामाङ समुदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौँ पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् । सामुदायिक रूपमा पनि समुदायका सबै जना एकैठाँउमा भेला भएर चाडबाड मनाउने अनि सरल अनि सभ्य रूपमा मिलनसार प्रवृत्तिको संस्कार अनि सन्देश दिने तामाङ समुदायहरू वास्तवमै एउटा अनुकरणीय समुदाय हो ।