बिर्तामोड । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (कीट)बाट अन्यायपूर्वक निष्काशित २० जना नेपाली विद्यार्थी पूर्वीनाका काँकडभिट्टा आइपुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले नाकामा आइपुगेका सबै विद्यार्थीलाई आफ्नो गन्तब्यतर्फ सुरक्षित रुपमा पठाइएको बताए ।
नेपाल फर्केका २० जना विद्यार्थीहरु दोस्रो तहको चौथो सेमिस्टारमा अध्ययनरत् थिए । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनाको विरोध भएपछि कलेज प्रशासनले उनीहरुलाई कुटपिट र धाकधम्की दिएर निष्काशन गरेको थियो ।
सबै विद्यार्थी रेल यातायातबाट पश्चिम बंगालको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेको प्रहरीको भनाई छ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. १२ की १८ वर्षीय आरुषी सिंह आज काँकडभिट्टा आइपुगेका हुन् ।
‘कलेजको लापर्वाहीले प्रकृति लम्सालको मुत्यु भएपछि विद्यार्थीहरु आन्दोलित भएका थिए,’ उनले पीडा सुनाउँदै भनिन्, ‘कलेज प्रशासनले हामीलाई कुटपिट र धम्की दिएर कलेज छाडेर जान भन्यो । असुरक्षा बढेपछि हामी घर फर्केका हौं ।’
घर फर्केका विद्यार्थीहरुमा काठमाडौंका चार जना, सप्तरीका नौ जना, कास्कीका दुई जना, सुनसरीका एक जना, ललितपुरका एक जना, मकवानपुरका एक जना, मोरङका एक जना र महोत्तरीका एक जना रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।


 
                                                                     
                
 
                     
                     
                     
                     
                     
                     
                    